
काठमाण्डु – भारतबाट फर्केका सुदूरपश्चिमको कैलाली र अछामका ५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा पोजेटिभ देखिएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा ३ जना कैलाली र २ जना अछामका छन् । कोरोना सङ्क्रमित उनीहरुलाई होम क्वारेण्टीनमा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो हप्ता भारतबाट फर्केका ८ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको छ । अहिले भारतमा कोरोनाको संक्रमण बढ्न थालेको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि हेल्थ डेस्क राखेर कोरानाको परीक्षण गर्दै आएको छ ।