जोडिनुहोस
  • होमपेज
  • ‘कुष्ठरोग उन्मूलन चुनौतीपूर्ण देखिएको छ’

‘कुष्ठरोग उन्मूलन चुनौतीपूर्ण देखिएको छ’

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेको जनाएको छ। नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरे पनि यसको उन्मूलन चुनौतीपूर्ण देखिएको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार नेपालले सन् २०३० भित्र कुष्ठरोग उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य लिएको भए पनि १८ जिल्लामा प्रतिदश हजारमा एक जनाभन्दा बढी कुष्ठरोगी भेटिएका छन्। सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा बिरामी भेटिएका छन्। कुष्ठरोगका कारण झण्डै दुई लाख व्यक्ति प्रभावित भएको र तीमध्ये करिब ३० हजार अपाङ्गता भएका व्यक्ति रहेको अनुमान छ। प्रभावित व्यक्ति र तिनका परिवारको आर्थिक स्थिति चिन्ताजनक रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग उन्मूलनका लागि नयाँ रणनीति निर्माण गरिने बताएका छन्। ‘नेपाल कुष्ठरोग सम्मेलन’मा उनले सन् २०३० सम्म यो रोग उन्मूलनका लागि प्राथमिकता निर्धारण गर्दै आवश्यक रणनीति अख्तियार गरिने बताए। उनले उन्मूलन अभियानले तीव्रता लिन नसकेको स्वीकार गर्दै कानुनी र सामाजिक दुवै पक्षमा काम गर्नुपर्नेमा जोड दिए। मन्त्री पौडेलले मधेस प्रदेशमा प्रभावितको सङ्ख्या बढी देखिनुको कारण खोज्नुपर्ने र सोहीअनुरुप रणनीति बनाउने बताए।

मन्त्रालयका सचिव डा. देवकोटाले यो रोग उन्मूलनका लागि उच्चस्तरको राजनीतिक प्रतिबद्धताको आवश्यकता औँल्याए। आइएलइपी सदस्य शोभाखर कँडेलले प्रभावितमाथिको विभेद् अन्त्य गर्न विद्यालयको पाठ्यक्रममा यसबारे शिक्षा दिनुपर्ने बताए। नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वउपसभामुख पुष्पा भुसालले कुष्ठरोगसँग जोडिएको मानव अधिकार र सामाजिक जागरणको आवश्यकतामा जोड दिइन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नयाँ प्रभावित भेटिनु स्वास्थ्य क्षेत्र र समाजवादमा समस्या रहेको सङ्केत भएको बताए।

के हो कुष्ठरोग ?

कुष्ठरोग छालामा फुस्रो दाग देखिने र छालाको वरिपरिको भागलाई नष्ट गर्ने प्रकारको सङ्क्रमण हो। यो रोगका कारण व्यक्ति शारीरिक रूपमा अपाङ्ग हुनसक्ने सम्भावना हुन्छ। यो रोग सहज रूपमा निको हुने र सबैभन्दा कम सर्ने भए पनि रोग लागेर निको भएका व्यक्ति अपमानको सिकार हुन बाध्य भएका छन्। शारीरिक रूपमा देखापर्ने असरका कारण कुष्ठरोगबाट पीडित अधिकांश व्यक्ति मानसिक रोगबाट गुज्रन परिरहेको मन्त्रालयका सचिव देवकोटाले बताए।