
मनसुनी प्रणाली सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ भने पूर्वी नेपालमा पनि पानी परेको छैन ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डुको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, काठमाण्डुको बूढानीलकण्ठमा ४४, सुन्दरीजलमा ३० र नागर्जुनमा ३६ मिलिमिटर वर्षा भएको छ । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा २८ मिलिमिटर वर्षा भएको छ । यस्तै, सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको छ । रुकुम पश्चिममा ५९, दाङमा ६७, कास्कीमा ६१, सिन्धुपाल्चोकमा ६५ र लमजुङमा ५३ मिलिमिटर वर्षा भएको छ ।
आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी-नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, सोमबार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।






















