
ढोरपाटन (बागलुङ) ।राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढेको छ।
वि.सं. २०६९ मा नयाँ सहरका रूपमा घोषणा गरिएको बुर्तिबाङमा सरकारको आयोजनाअनुसार १२ वर्षमा पनि अपेक्षित प्रगति हुन सकेको छैन। २०६९ देखि २०९० सम्म कार्य सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा हालसम्म करिब रु ७८ करोड विनियोजन भएकोमा रु ५० करोडमात्र खर्च भएको छ।
सूचना अधिकारी कोमल शाहका अनुसार हालसम्म १६.३ किमी सडक ढलान, ६.३ किमी नाला, ५ किमी नयाँ सडक ट्रयाक, सभाहल, एकीकृत भवन, मनोरञ्जन पार्क, सौर्यबत्ती जडान र ५६ रोपनी जग्गा खरिदको काम भएको छ। तर विनियोजित रकमअनुसार जम्मा पाँच प्रतिशत काम मात्र भएको छ।
हाल पार्क, बसपार्क, खेलमैदान र सडक विस्तारको काम भइरहे पनि बजार क्षेत्रमा ट्राफिक चाप बढ्दासमेत सडक विस्तार, फोहर व्यवस्थापन, खानेपानी, ढल निकासी, हाटबजारजस्ता पूर्वाधार निर्माण अपूरै छन्।
हालसम्म एक अर्ब रुपैयाँ पनि विनियोजन नहुँदा काम सुस्त भएको आयोजनाले जनाएको छ। स्थानीयवासी कुलमबहादुर घर्तीका अनुसार १०–१२ वर्षमा पनि देखिने ठूला संरचना बन्न सकेका छैनन्।
अहिलेसम्म चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डारलगायतका पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ।