
म्याग्दी। राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण प्रणालीमा जोड्ने क्रममा प्राविधिक त्रुटि देखिएको छ। जलविद्युत् आयोजनाहरूले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको प्रसारण लाइनभन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने गरी ‘क्रसिङ’ बनाएका छन्। यसले दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुन पुगेको छ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने जलविद्युत् आयोजनाको प्रसारण लाइन र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकआपसमा ‘क्रसिङ’ हुने स्थानमा प्राविधिक मापदण्ड पालना गरिएको छैन। प्राविधिक नियमअनुसार बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ। क्रसिङ हुने ठाउँमा १३२ केभीको माथिल्लो तारदेखि २२० केभीको तल्लो तारबीचको दूरी न्यूनतम चार दशमलव पाँच मिटर हुनुपर्ने मापदण्ड रहेको छ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय ग्रिडमा जोड्न मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पुर्याएको छ।
डाँडाखेत–राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ। सन् २०२१ देखि निर्माण सुरु भएको डाँडाखेत–राहुघाट प्रसारण लाइनमा ढिलाइ भएपछि १३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनको विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन्।
राहुघाट बेसिनमा ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन्। डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथाभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएको बताए।
उनले जलविद्युत् आयोजनाले आफ्नो लाइनमुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि बेवास्ता गरेको गुनासो गरे। “१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो,” अग्रवालले भने।
यस विषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उहाँहरूले फोन उठाउनुभएन। तर, तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिएका छन्।