जोडिनुहोस
  • होमपेज
  • नीति तथा कार्यक्रम पारितका लागि कांग्रेसद्वारा सांसदहरूलाई अनिवार्य उपस्थिति आदेश

नीति तथा कार्यक्रम पारितका लागि कांग्रेसद्वारा सांसदहरूलाई अनिवार्य उपस्थिति आदेश

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिने आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सबै सांसदलाई बैठकमा उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य निर्देशन दिएका हुन्।

कांग्रेस सांसदहरूलाई पठाइएको म्यासेजमा भनिएको छ, वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि वैशाख २२ गतेदेखि संसद्मा सो कार्यक्रममा छलफल सुरु भएको थियो। छलफलपछि उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि निर्णयार्थ पेस गरिने कार्यक्रम संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।

यसबाहेक, सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि यसअघि नै आफ्ना सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन निर्देशन दिएको थियो।

संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारीसँगै दुवै ठूला दलले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको परिप्रेक्ष्यमा आजको बैठक विशेष महत्वको हुने आँकलन गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका