
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा जारी हिंसा अन्त्य हुने संकेत देखिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा हिंसा जारी रहेमा विद्रोह ऐन लागू गर्ने चेतावनी दिएका छन् । यो कानूनले आन्तरिक हिंसा रोक्न अमेरिकामा सेना तैनाथ गर्न अनुमति दिन्छ । ट्रम्पले भनेका छन्- ‘पछिल्लो २ दिनदेखि अवस्था बिग्रँदै गएको छ, यदि विद्रोह भयो भने, म निश्चित रूपमा विद्रोह ऐन लागू गर्नेछु ।’
यद्यपि, लस एन्जलसमा ७०० मरीन कमाण्डो र ४००० राष्ट्रिय गार्डहरू पहिले नै तैनाथ गरिएका छन् ।
साथै, ट्रम्पले जुन १४ मा वाशिंगटन डीसीमा आयोजना हुने आर्मी परेडको क्रममा सम्भावित प्रदर्शनहरूको बारेमा पनि चेतावनी दिएका छन् । उनले यदि कसैले विरोध गरेमा उसले धेरै ठुलो बलको सामना गर्नुपर्ने चेतावानियो दिएका छन् । जुन १४ अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो ।
लस एन्जलसको हिंसामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरुद्धमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् ।
हिंसात्मक प्रदर्शनका क्रममा कैयौं व्यापारिक स्थानमा लुटपाट भएको समेत बताइएको छ । अवस्था नियन्त्रण बाहिर गएपछि लस एन्जलसका मेयरले शहरमा कर्फ्यु आदेश जारी गरेका छन् ।
अमेरिकामा विद्रोह ऐन अन्तिम पटक १९९२ मा प्रयोग गरिएको थियो । १८०७ मा लागू भएको विद्रोह ऐनले अमेरिकी राष्ट्रपतिलाई कानून व्यवस्था कायम राख्न र नागरिक अशान्तिलाई दबाउन सेना परिचालन गर्ने अधिकार दिन्छ । यो अन्तिम पटक १९९२ मा लस एन्जलस दंगाको समयमा क्यालिफोर्नियाका गभर्नरको अनुरोधमा लागू गरिएको थियो ।