
काठमाडौँ । स्पेस एक्सको अन्तरिक्ष मिशन एक्सिओम-४ को प्रक्षेपण चौथो पटक स्थगित गरिएको छ ।
स्पेस एक्सले पोस्ट स्ट्याटिक फायर बूस्टरको निरीक्षणको क्रममा फाल्कन- 9 रकेटमा अक्सिजन चुहावटको समस्या फेला परेको बताउदै प्रक्षेपण स्थगित भएको जानकारी दिएको हो । इन्जिनियरहरूले यसलाई मर्मत गर्न थप समय मागेको स्पेस एक्सले बताएको छ ।
स्पेस एक्सले फाल्कन ९ को आक्सियम-४ को नयाँ प्रक्षेपण मिति भने तोकेको छैन ।
यो बहुप्रतिक्षित मिसन चौथो पटक स्थगित गरिएको छ । यसको प्रक्षेपण मिति पहिले मे २९ मा तय गरिएको थियो, त्यसपछि यसलाई जुन ८ सम्म बढाइएको थियो । यसपछि, यसको प्रक्षेपणको मिति फेरि जुन १० मा परिवर्तन गरिएको थियो । त्यसपछि ११ सम्म स्थगित गरिएको थियो ।
यस महत्वाकांक्षी अभियान अन्तर्गत भारतका शुभांशु शुक्ला अब अन्तरिक्षमा जाने दोस्रो भारतीय बन्न लागेका छन् । यति मात्र होइन, उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) पुग्ने पहिलो भारतीय हुनेछन् । यो अभियान भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), अमेरिकाको अन्तरिक्ष मिसन कम्पनी एक्सिओम स्पेस र नासासँगको सहकार्यमा सञ्चालन भइरहेको छ । साथै, एलन मस्कको स्पेसएक्सले यस मिसनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।