
फिफा क्लब विश्वकप २०२५ शनिबार राति अमेरिकामा शुरु हुँदैछ। यो वर्षको संस्करणमा ३२ टोली सहभागी हुँदैछन्।
यससँगै अब फिफा वर्ल्ड कप र क्लब वर्ल्ड कपबीच समानता बनेको छ । यसले क्लब विश्वकपलाई एक अन्तर्राष्ट्रिय फुटबल महाकुम्भको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।
प्रतियोगितामा ३२ क्लबलाई ८ समूहमा विभाजित गरेर खेलाउन थालिएको छ। प्रत्येक समूहमा रहने चार टोलीमध्ये शीर्ष २-२ टोली नकआउट चरणमा पुग्नेछन्। नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे हुने उद्घाटन खेलमा अल–अह्ली र इन्टर मियामीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल जुलाई १३ मा खेल हुनेछ । क्लब विश्वकपमा रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, इंटर मिलान जस्ता प्रमुख क्लबहरूको सहभागिता हुनेछ। नयाँ ढाँचाले क्लब फुटबलको प्रतिस्पर्धात्मकता र वैश्विक स्तरमा यसको महत्त्वलाई थप बल दिएको फिफाले दाबी गरेको छ।