
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र बिस्तारै सुधारतर्फ उन्मुख भए पनि अझै धेरै चुनौतीहरू बाँकी रहेको बताएका छन्।
आइतबार संसद्मा आर्थिक वर्ष २०८२र८३ को बजेटमाथिको छलफल अघि बढाउन प्रस्ताव पेश गर्दै उनले देशको आर्थिक अवस्था, सुधारको संकेत र रणनीतिक नीतिहरूको बारेमा जानकारी दिए।
उनले भने, सुधारका संकेत देखिए पनि संरचनागत कमजोरी र विगतका असरहरूबाट अर्थतन्त्र पूर्ण रूपमा मुक्त छैन। बजेटमार्फत ती चुनौतीहरू समाधान गर्न विभिन्न नीति तथा कार्यक्रम अघि सारिएका छन्। पौडेलले बजेटमा सूचना प्रविधिमा आधारित उद्योग, होटल र रिसोर्टलाई विशेष उद्योगको रूपमा मान्यता दिई आयकर र बिजुली महसुलमा छुटको व्यवस्था गरिएको जानकारी दिए।
साथै, नेपालमै बसेर सूचना प्रविधिको सेवा निर्यात गर्ने व्यक्तिहरूको आम्दानीमा केवल ५ प्रतिशत मात्र आयकर लाग्ने र त्यो अन्तिम कर हुने व्यवस्था गरिएको पनि उनले उल्लेख गरे।