
पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गर्दै रोग नियन्त्रणका उपायलाई तीव्र बनाएको छ। विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गर्दै निगरानीसमेत बढाएको जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमणको जोखिम बढी देखिएकाले नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ। उनका अनुसार करिब तीन महिनाअघि सुरु भएको संक्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको छ।
हालसम्म करिब १०० वटा कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ती फार्मका कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ। साथै प्रभावित फार्ममा करिब डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै उच्च सतर्कता अपनाउन व्यवसायीलाई अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रका कुखुरा फार्ममा संक्रमण पुष्टि भएको छ।
महानिर्देशक दाहालले बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित पन्छी नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताए। उनले यो भाइरस मानिसमा पनि सर्न सक्ने सम्भावना रहेकाले कुखुरापालक व्यवसायी र उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे।
बर्डफ्लु नियन्त्रणका लागि विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ।
विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार संक्रमणका कारण नष्ट गरिएका कुखुरा, अण्डा र दानाको प्रमाणका आधारमा सम्बन्धित जिल्ला समितिले निर्धारण गरेको दररेटअनुसार किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ।


















