जोडिनुहोस
  • होमपेज
  • सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो, नेपालको लागि नयाँ प्रजाति

सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो, नेपालको लागि नयाँ प्रजाति

काठमाडौँ । नेपालमा चराको नयाँ प्रजाति ‘भिओलेट कुक्कू’ अभिलेख गरिएको छ। नेपाल पन्छीविद् सङ्घका अनुसार इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रमा यो चरा फेला परेको हो।

चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकन गर्ने क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए। सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो।

चरा अवलोकन गर्ने क्रममा गुरुङसँगै रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेका थिए।

टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए। चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाएका थिए। समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा. तुलसी सुवेदीले जानकारी दिए।

उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ। यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स र सिङ्गापुरमा प्रजनन गर्दछ। विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन्। यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एक प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ।

धेरै टिप्पणी गरिएका