जोडिनुहोस
  • होमपेज
  • नेपालमा प्रि–मनसुन गतिविधि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

नेपालमा प्रि–मनसुन गतिविधि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय भएको छ । बिहीबार देखि देशका धेरै ठाउँमा वर्षा शुरू भएको छ । केही ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अब झन्डै दुई हप्तासम्म रहने मौसमविद्ले बताएका छन् ।

यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेलले बताए। अहिले प्रि–मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।

काठमाण्डौ उपत्यकासहित देशभर बढेको गर्मी अब हरेक दिनजसो पर्ने पानीले केही कम हुने देखिएको छ । तर पश्चिम तराईमा अझै केही दिन चर्को गर्मी हुने मौसमविद् पोख्रेलको भनाइ छ ।

यसैबीच शुक्रबार पनि ठाउँ–ठाउँमा हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका