
काठमाडौँ। मकवानपुरमा आज बिहान भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते भएका छन् भने एउटा कार जलेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ। बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ। काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीजे १२ डीए ९६१८ नम्बरको कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। आगलागीबाट भने मानवीय क्षति भएको छैन।