
प्रधानमन्त्री केपी ओलीले यसअघिको एसईई परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्यमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो । उहाँले यसवर्षको एसईई मा विगतको भन्दा नतिजामा सुधार आउने अपेक्षा राख्नुभएको छ ।
सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएकोबारे शिक्षकको बुझाइ नै खराब रहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको तर उपयुक्त काउन्सिलिङ र अवसर पाउन नसकेको बताउनुभएको छ ।
आज आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षको मे २ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘सूचना प्रविधिको अभियानः डिजिटल नेपालको निर्माण’ भन्ने नारासहित गोष्ठी, सेमिनार, प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रम भएका छन् ।
सरकार प्रत्यक्ष संलग्न भएर आईसीटी दिवस मनाउन थालेको आठ वर्ष भएपनि यसको सुरुवात निजी क्षेत्रको पहलबाट भएको थियो । तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल अहिलेको क्यान महासंघले सन् २०११ देखि नै मे २ लाई आईसीटी दिवसको रूपमा मनाउन सुरु गरेको थियो । मे महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य सुरुवाती काम भएको भन्दै क्यानले यो दिवस मनाउन सुरु गरेको थियो ।
यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो । यो दिवस नेपाली समाजको डिजिटल रूपान्तरणमा सूचना तथा सञ्चार प्रविधिले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गर्ने अवसर भएको विज्ञहरु बताउँछन् ।