जोडिनुहोस
  • होमपेज
  • धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

धरान उपमहानगरमा तनाव: मेयर र उपमेयरका समर्थकबीच झडप

धरान । धरान उपमहानगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडपको स्थिति सिर्जना भएको हो।

धरान–१७ का वडाध्यक्ष एवं नगर प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयर समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। त्यसपछि उपमेयर बेघाका समर्थकहरू, मुख्यतः माओवादी कार्यकर्ताहरू, पनि कार्यालय परिसरमा भेला भएका थिए। दुवै पक्षबाट नाराबाजी र भिडभाडका कारण सुरक्षाको चुनौती बढेको छ।

विवादको जड : ग्याबिन जाली निर्माण
तनावको मूल कारण धरान–१६ स्थित बहुभाषिक पाठशालामा निर्माण गरिएको ग्याबिन जाली हो। मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि श्रमदानमार्फत उक्त जाली निर्माण गरिएको थियो। तर, निर्माण सकिएपछि साम्पाङले त्यसको नयाँ रि–इस्टिमेट गराएर उपभोक्ता समिति बनाएर नगर कार्यालयमा बिल पेस गरेका थिए।

उपमेयर बेघाले भने श्रमदानबाट पहिल्यै सम्पन्न कामको भुक्तानी नगरबाट गर्न नमिल्ने अडान लिँदै अनुमगन अस्वीकार गरेका थिए। उनका अनुसार डोर हाजिरी गरिएको, बाहिरी व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको, र काम पछि समिति बनाइ बिल पेस गरिएको सबै प्रक्रिया कानुनविपरीत छ।

आन्तरिक आरोप–प्रत्यारोप
उपमेयर बेघाले मेयर साम्पाङले व्यक्तिगत नजिकका मानिसलाई उपभोक्ता समितिमा राखेर भुक्तानी गराउने नियत देखिएको बताए। धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले समितिको संयोजक धरान–१४ का प्रसाद राईलाई बनाएर प्रक्रियाविपरीत काम अघि बढाइएको आरोप लगाए।

मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य हुनुपर्ने भन्दै अडानमा छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, “धरान कसरी चलाउने भन्ने म जान्दछु। म जनताको आदेशबाट चलेको मान्छे हुँ, जनताभन्दा ठूलो कोही हुँदैन।”

सोमबारदेखि नै नगरमा जारी तनाव अझ चुलिँदै गएको छ। बैठकका लागि नगर कार्यालयमा पुगेका मेयर समर्थकहरूले सोमबार पनि उपमेयरमाथि हातपातको प्रयास गरेका थिए।

नगर प्रवक्ता भट्टराईले भने, “अहिले मेयरले निम्त्याएको अराजकताले उपमहानगरको वातावरण नै अस्तव्यस्त बनाएको छ।”

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका