जोडिनुहोस
  • होमपेज
  • भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

धुलिखेल (काभ्रेपलाञ्चोक)। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका तीन विद्यालय भवन निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ। सम्झौता अनुसार काम सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने कालीदेवी मावि कुपिन्टार, गोकुले मावि गोकुले र जनकल्याण मावि घर्तीछापका भवन निर्माण कम्पनीले पिलर ठड्याएर ढलान गरी अलपत्र छाडेका हुन्।

भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थीहरू सुरक्षित भवनमा बसेर पढ्न पाएका छैनन्। विद्यालयका अनुसार भवन अभावका कारण शैक्षिक क्रियाकलापमा समेत नकारात्मक असर परेको छ। महाभारत–२ कुपिन्टारका विद्यार्थीहरू अझै पनि अस्थायी सिकाइ केन्द्रमा बसेर पढ्न बाध्य छन्।

कालीदेवी माविका प्रधानाध्यापक सुनिल सारूले भवन नबन्दा बालबालिकालाई पठनपाठनमा कठिनाइ भएको बताए। उनले तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइले बनाएको चारकोठे भवनमा प्रशासन, कम्प्युटर ल्याब र दुईवटा कोठामा साना बालबालिकाका लागि कक्षा सञ्चालन भइरहेको जानकारी दिए। हुरीबतासले छाना उडाएपछि बाँसको बारे लगाएर खुला ठाउँमा पढाउनुपर्ने बाध्यता रहेको उनले सुनाए।

विद्यालयका लागि छ–छ कोठे तीनवटा नयाँ भवन निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो। तर, अहिलेसम्म काम सम्पन्न नभएपछि विद्यालयले सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराएको छ। अहिले तीनवटै भवनको ढलान मात्र गरिएको छ भने शौचालय, घेराबार र खानेपानीसहितका संरचना निर्माणको काम सुरु भएको छैन।

महाभारत गाउँपालिकाले पनि भवन निर्माणलाई छिटो सम्पन्न गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको टोलीले केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएको छ। अध्यक्ष जिम्बाले निर्माण व्यवसायीले काम अलपत्र पारेको र पटकपटक आग्रह गर्दा पनि निर्माणले गति लिन नसकेको बताए।

आयोजना प्रमुख लक्ष्मीप्रसाद भट्टराईले समयमा काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई जरिवाना लगाएर थपिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिए। जनकल्याण माविको भौतिक प्रगति ७२ प्रतिशत र आर्थिक प्रगति ५१ प्रतिशत, गोकुले माविको भौतिक प्रगति ७१ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत तथा कालीदेवी माविको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशत मात्र रहेको आयोजनाले जनाएको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यी भवन निर्माणका लागि टिडिआई/आशिष निर्माण सेवासँग भ्याटबाहेक ६ करोड ७१ लाख ६६ हजार ५१६ रुपैयाँ, ६ करोड ५४ लाख ९४ हजार ९९० रुपैयाँ र ७ करोड १५ लाख १२ हजार ८०० रुपैयाँमा सम्झौता गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका