
उपल्लो मुस्ताङको घमीमा स्याटलाइट कृषि फार्म स्थापना गरिने भएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङको शाखाका रूपमा स्याटलाइट कृषि फार्म स्थापना गर्न लागिएको हो ।
मार्फामा उत्पादन हुने फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धनका साथै स्थानान्तरण गर्ने उद्देश्यले स्याटलाइट फार्म स्थापना गर्न लागिएको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
स्याटलाइट फार्म स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । अहिलेसम्म ८ सय १ रोपनी जग्गा नेपाल सरकारका नाममा दर्ता भइसकेको र अब केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयले जानकारी दिनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल तथा तरकारीमा चुनौती देखिन थालेको छ । त्यसका लागि स्याटलाइट फार्म आवश्यक रहेको केन्द्रका प्रमुख आत्रेयको भनाइ छ ।
मुस्ताङको तल्लो क्षेत्रमा स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायतको उत्पादनमा जलवायु परिवर्तनको प्रभाव पर्न थालिसकेको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा भएलगत्तै कार्यालय स्थापना र फार्म विस्तारको प्रक्रिया अघि बढाउने तयारी छ ।
अहिले शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा १ सय ७५ र घाँसामा २० रोपनी तथा जोमसोममा १ रोपनी जग्गा छ । केन्द्रले मार्फामा ४ वटा ब्लकमा फलफूलको बिरुवा तथा तरकारीको बीउ उत्पादन गर्दै आइरहेको छ ।