जोडिनुहोस
  • होमपेज
  • म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

गलेश्वर (म्याग्दी)। बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’ को निर्माण कार्य सुरु भएको छ। निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ।

सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकहरूको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो।

बेनी नगरपालिकाको १ लाख ५० हजार रुपियाँ लगानीमा पहिलो चरणमा जमिन सम्म्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताए।

“सदरमुकाम नजिकै नयाँ पर्यटकीय स्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैंचासहितको आकर्षक पार्क बनाउन लागिएको हो। बस्नका लागि आराम कुर्सीसहित साना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचनाहरू निर्माण गर्ने योजना छ,” अध्यक्ष कार्कीले भने।

“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्याउनका लागि मात्र बजेट विनियोजन गरेकोले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौँ,” कार्कीले थपे। पर्यटकको आगमन बढेसँगै उनीहरूलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारीसमेत निर्माण गरेका छन्।

कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यसपछिका वर्षहरूमा चहलपहल बढ्दै गएको हो। हाल उक्त स्थानमा दैनिक ५० देखि २०० जना पर्यटक आउने गरेका स्थानीय पुरन घिमिरेले बताए। उनका अनुसार शनिबार र बिदाका अन्य दिन कर्मचारी, व्यापारीलगायत पनि त्यहाँ रमाउन जाने गरेका छन्।

शिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दूधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि युवायुवती र बालबालिकामात्र नभई जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका २ बगरफाँटका युवा सज्जन जिसीले बताए।

खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो खिच्न पुग्ने गरेका छन्। यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गन्तव्य पनि बनेको छ। कोप्रे झरना पुग्दा आफूलाई आनन्द भएको मङ्गलाघाटका रमेश फगामीले बताए।

हिउँदमा केही सानो देखिने यो झरना वर्षामा भने निकै आकर्षक हुन्छ। कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरूले ‘वर्षे झरना’ पनि भन्छन्। भीरपहराबाट खस्ने झरना देख्दा मनै फुरुङ्ग हुन्छ। घाम लागेका बेला इन्द्रेणी पर्ने झरनालाई हेरिरहुँजस्तो लाग्छ। पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ। यो झरना अङ्ग्रेजी अक्षर भी आकारको छ।

सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। यसलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफा लगायतका धार्मिक तथा पर्यटकीय स्थल पनि छन्। त्यहाँ पुग्ने प्रकृति प्रेमी पार्क घुमेर फर्कने वडाध्यक्ष कार्कीको विश्वास छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका