
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकता अनुरूप व्यावहारिक ज्ञान, नैतिक शिक्षा तथा क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो शिक्षाले हालको चुनौती सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले देश कठोर र विषम परिस्थितिबाट गुज्रँदै वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन तोकिएको स्पष्ट पारे। “यो निर्वाचनले सुशासन, विकास र समृद्धिको यात्रामा नयाँ दिशा दिनेछ। लोकतन्त्र, देश र जनताका लागि यो निर्वाचन अपरिहार्य भएकाले सफल पार्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई म अपिल गर्दछु,” उनले भने।
देश तथा समाजको मागअनुसार नयाँ विषयसहित उच्च शिक्षालाई सीपमूलक र व्यवहारमुखी बनाउन शैक्षिक संस्थाले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। मुलुकका प्राज्ञिक, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू पद्मकन्याबाट उच्च शिक्षा हासिल गरेको उल्लेख गर्दै उनले क्याम्पसको योगदानप्रति प्रशंसा व्यक्त गरे।
उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा क्याम्पसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे। “बजारको मागअनुसार विषय विस्तार गरी स्वदेशमै गुणस्तरीय शिक्षा दिन सकिने हो भने विद्यार्थीको विदेशिने प्रवृत्ति कम हुनेछ,” उनले भने।
राष्ट्रपति पौडेलले नेपालको नारी शिक्षामा पद्मकन्या बहुमुखी क्याम्पसले ऐतिहासिक योगदान पुर्याएको उल्लेख गर्दै भने, “राणा शासनपछि आम नागरिकको शिक्षामा पहुँच बढ्दै गएको बेला नेपाली नारीका लागि उच्च शिक्षा उपलब्ध गराउने ढोका पद्मकन्याले नै खोल्यो। आज पनि यो क्याम्पस नारी शिक्षाको पर्याय बनेको छ।”
महिला सशक्तीकरण र गुणस्तरीय शिक्षाको उद्देश्यसहित स्थापना भएको पद्मकन्या क्याम्पस मुलुककै अग्रणी शैक्षिक संस्था बन्दै गएकोमा खुशी व्यक्त गर्दै उनले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्ने पहलप्रति प्रसन्नता जनाए।
समारोहका क्रममा राष्ट्रपति पौडेलले पछिल्लो शैक्षिक सत्रमा विद्यावारिधी प्राप्त गर्ने विद्या थापा, प्रज्ञा गौतम, भगवती सेडाई, निरन खनाल र अञ्जना पोखरेललाई सम्मान गरे। कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधानले क्याम्पसको शैक्षिक प्रगति र योजनाबारे जानकारी गराइन्।





































