जोडिनुहोस
  • होमपेज
  • रसुवामा धामी–झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

रसुवामा धामी–झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

रसुवा। जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आई अस्पतालतर्फ मानिसको भीडभाड देखिने गरेको छ।

रसुवा अस्पतालका सूचना अधिकारी योगेन्द्र गुर्मछान मगरका अनुसार पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसाबले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा तथा सामाजिक सञ्जालका कारण परम्परागत उपचार पद्धतिमा भन्दा अस्पतालको सेवाप्रति विश्वास बढेको देखिन्छ।

जिल्ला अस्पतालबाट यस वर्ष मात्र २०० भन्दा बढी सेवाग्राहीले फिजियो थेरापी सेवा लिएको, १५ महिलासहित ४३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको, एक्स्रे, भिडियो एक्स्रे, उच्च रक्तचाप, रेबिज, सर्पदंश, दक्ष जनशक्तिसहित गुणस्तरीय प्रयोगशालामार्फत कलेजो, मृगौला, कोल्स्टोर, रगत, दिशा–पिसाब परीक्षण, चिनी रोग, इसिजीलगायत चिकित्सा विज्ञानअन्तर्गतका आधुनिक सेवा जिल्लामा नै उपलब्ध रहेकाले अस्पतालतर्फ बिरामीको चाप बढेको सूचना अधिकारी मगरले जानकारी दिए।

चालु आवको १० महिनाको अवधिमा ४३९ जनालाई दाँत, ९८७ सामान्य प्रकृतिका, ५९९ ज्येष्ठ नागरिकसमेत विभिन्न तह र तप्काका गरी ५,६५५ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको सो अस्पतालका मेडिकल अधिकृत सिजन कार्कीले बताए। यसैगरी १,२६४ जनालाई साधारण एक्स्रे र ७६३ जनालाई भिडियो एक्स्रे, एक जनालाई हर्निया र २० जनालाई सामान्य शल्यक्रिया गरेको अस्पतालले स्पष्ट गरेको छ।

विशेषगरी हिमाली जिल्लाको हावापानी र कुपोषणका कारण हुने रुघा, खोकी, निमोनिया, दम, पेटसम्बन्धी रोग, हर्निया, एपेन्डिसाइटिस, हाडजोर्नी, एक्स्रे र स्त्री रोगसँग सम्बन्धित समस्याबाट पीडित बिरामी अस्पताल आउने गरेको मेडिकल अधिकृत सिजन कार्कीले जानकारी दिए।

बालरोग विशेषज्ञसमेत रहनुभएका जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेलले सरकारको नीतिनिर्देशनलाई पालना गर्दै जिल्लास्थित स्थानीय निकायसहित राजनीतिक पार्टी, नागरिक समाजका प्रतिनिधिसँग समन्वय गरी जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल परिवार क्रियाशील रहेको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका