काठमाडौँ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै छ। यस दिन छोराछोरीहरूले आफ्नी आमालाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गर्छन् र आशीर्वाद लिन्छन्।
शास्त्रमा आमालाई उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूलो मानिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। आज बिहानै नुहाएर छोराछोरीले आमालाई राम्राराम्रा लुगा लगाउने र तागतिला खानेकुरा खान दिने चलन छ। आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् कार्यहरू सम्झन्छन्।
सनातन वैदिक शास्त्र अनुसार प्रत्येक व्यक्तिले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ। वैदिक सनातन धर्मग्रन्थमा आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो बताइएको छ। धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व सबैभन्दा बढी छ। शास्त्रीय ग्रन्थमा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने उल्लेख छ।
यसै महत्वका कारण जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर खुसी बनाइन्छ भने दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको भट्टराईले बताए।
आज चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गर्छ र यसको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिए पनि आमाको मुख हेर्न नहुने भन्ने प्रचार सही नभएको स्पष्ट पारेको छ।