
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा भइरहेको प्रयासबारे जानकारी गराएका छन्।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्यसम्बन्धी तथ्यांक छरिएर रहेको उल्लेख गर्दै त्यसलाई एकीकृत गर्न नीतिगत निर्णयमार्फत सुधार प्रक्रिया अघि बढाइएको बताए। उनले नागरिक परिचयपत्रमा जनसंख्यासम्बन्धी विवरण समावेश गर्ने काम सुरु भइसकेको र स्वास्थ्यसँग जोडेर एकीकृत तथ्यांक प्रणाली विकास भइरहेको जानकारी गराए।
‘एकीकृत तथ्यांक अभावका कारण नीति निर्माणमा समस्या आएको छ, अब भने यो व्यवस्थित हुने अपेक्षा गरेका छौं,’ मन्त्री पौडेलले भने, ‘डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालय सहकार्य अझ व्यापक बनाउनेछौं।’
सम्मेलनको अवसरमा उनले संयुक्त राष्ट्रसंघ एसिया–प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँग भेटवार्ता गर्दै डिजिटल प्रणालीको रुपान्तरणमा प्राविधिक चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्यको अपेक्षा गरिएको बताए।
उनले घटना दर्ता प्रणालीलाई समावेशी र प्रभावकारी बनाउन नेपालले द्रुत गतिको लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे।
सम्मेलनमा मन्त्रालयका सहसचिव ढुण्डीराज निरौला पनि सहभागी थिए। उनले एसिया–प्रशान्त क्षेत्रबाट नेपालका प्रयासप्रति सकारात्मक प्रतिक्रिया आएको र यसले थप काम गर्न हौसला मिलेको बताए। जनसंख्या नीतिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले डिजिटल प्रणालीको विशेष भूमिका हुने बताए।