जोडिनुहोस
  • होमपेज
  • भारतमा फेरि कोरोना : नयाँ भेरियन्टसहित संक्रमित र मृत्यु संख्या बढ्दै

भारतमा फेरि कोरोना  : नयाँ भेरियन्टसहित संक्रमित र मृत्यु संख्या बढ्दै

काठमाडौं । भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो तथ्यांकअनुसार मंगलबार मात्रै १,०८१ नयाँ संक्रमित थपिएका छन् भने १२ जनाको ज्यान गएको छ। केरलमा सबैभन्दा धेरै ४३० सक्रिय संक्रमित भेटिएका छन्। कर्नाटका, गुजरात, बिहार, हरियाणा लगायत राज्यहरूमा पनि नयाँ केस देखिएकाे भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको मृत्यु नयाँ भेरियन्टबाट भएको पुष्टि भएको छ। यो प्रदेशमा नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटका, र मध्य प्रदेशमा पनि थप ११ जनाको मृत्यु भइसकेको छ।

चार नयाँ भेरियन्टको चिन्ता
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का अनुसार, हालसम्म चार नयाँ भेरियन्ट — LF.7, XFG, JN.1, NB.1.8.1 — पत्ता लागेका छन्।
JN.1 सबैभन्दा धेरै फैलिएको भेरियन्ट हो, जुन परीक्षण गरिएका आधाभन्दा बढी नमूनामा भेटिएको छ। यो भेरियन्ट पहिलो पटक अगस्ट २०२३ मा देखिएको थियो र डिसेम्बरमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘Variant of Interest’ घोषणा गरेको थियो।

हालको अवस्थालाई डाक्टरहरूले निकै गम्भीर भनेका छैनन्, तर सावधानी आवश्यक रहेको बताएका छन्। विश्व स्वास्थ्य संगठनले यी भेरियन्टलाई ‘निगरानी योग्य’ मानेको छ, तर ‘चिन्ताजनक’ भने मानेको छैन।

विशेषज्ञहरूका अनुसार JN.1 ले सामान्यतया छिटो फैलिन्छ तर धेरै गम्भीर लक्षण देखिदैन। यद्यपि, केही संक्रमितलाई ‘लङ्ग कोभिड’ हुन सक्ने सम्भावना रहेको बताइएको छ — जसमा लक्षणहरू निको भइसकेपछि पनि लामो समयसम्म रहन सक्छन्। भारतमा बढ्दो संक्रमणको यो अवस्था नजिकबाट निगरानी गरिंदैछ र स्वास्थ्य अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका