जोडिनुहोस
  • होमपेज
  • नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

मध्यविन्दु (नवलपरासी)। नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारको कार्यलाई निरन्तरता दिँदै रातिको सवारी आवागमन आगामी वैशाख ३१ गतेसम्म बन्द रहने भएको छ। यसअघि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएकोमा अब त्यसलाई वैशाख ३१ गतेसम्म लम्ब्याइएको हो।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य अझै केही दिन जारी रहने भएकाले राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिनेछ।

“दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माण कार्यलाई तीव्रता दिन रातको समयमा सवारी साधन सञ्चालन रोकिएको छ,” प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको काम वर्षाअगावै सम्पन्न गर्न थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको हो।”

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ।

नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर खण्ड अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेन र जोखिम बढी रहेको दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ। १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका