जोडिनुहोस
  • होमपेज
  • विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर रहेको छ।

कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा जम्मा तीन जना विद्यार्थी मात्र छन्। प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार, कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी छन्। विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी गरी तीन जना कर्मचारी छन्।

“तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्,” प्रधानाध्यापक पाइजाले भने, “भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको छ।”

स्वाँत गाउँमा ७० घर भए पनि हाल थोरै परिवारको मात्र बसोबास छ। विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका