जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • गण्डकी प्रदेशमा बजेटको तयारी, आकार घट्ने सङ्केत

गण्डकी प्रदेशमा बजेटको तयारी, आकार घट्ने सङ्केत

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको थालनी गरेको छ। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार बजेट तर्जुमा र समन्वयका लागि स्थानीय तहहरूसँग पूर्वतयारी छलफल जारी छ। नवलपुर र तनहुँमा यस्ता छलफल सम्पन्न भइसकेका छन्।

महाशाखा प्रमुख रिज्यालले निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञहरूसँग पनि बजेट निर्माणबारे परामर्श भइरहेको जानकारी दिए। उनले आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयहरूसँग विस्तृत छलफल गरिने बताए। बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकारवालाहरूको अपेक्षा र सुझावलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

छलफलका क्रममा स्थानीय तहहरूले बजेटलाई समावेशी र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन्। रिज्यालले भने, “बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्त्वपूर्ण सहयोग पुगेको छ।”

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने सङ्केत देखिएको छ। समानीकरण अनुदानमा भएको कटौती र राजस्व सङ्कलनमा आएको कमीका कारण बजेटको आकार घट्न सक्ने रिज्यालले बताए। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट सार्वजनिक गरेको थियो। आगामी आर्थिक वर्षका लागि भने रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए। गण्डकी प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।