
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले सत्तामा आएको भरमा विपक्षी पक्षलाई समाप्त पार्ने मानसिकता राख्न नहुने बताएकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि एकअर्कालाई ध्वस्त पार्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत हुने धारणा व्यक्त गरिन्।
हालको राजनीतिक परिवर्तनसँगै नयाँ पुस्ताका नेताहरू नेतृत्वमा पुगेको उल्लेख गर्दै कार्कीले जनताले दिएको मतको सम्मान गर्दै उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्ने बताइन्। उनका अनुसार सरकारको आलोचना गर्नु प्रतिपक्षको दायित्व भए पनि त्यसको उद्देश्य सरकारलाई असफल बनाउने नभई सुधारको बाटो देखाउने हुनुपर्छ।
‘जनताले मत दिएर आएको सरकारको खुट्टा तानेर फाल्ने र ध्वस्त बनाउने होइन,’ कार्कीले भनिन्, ‘जनताले चाहेको परिवर्तनलाई सम्मान गर्दै काम गर्न दिनुपर्छ।’
प्रधानमन्त्री बालेन्द्र साह तथा सत्तारुढ दलका युवा नेताहरूलाई लक्षित गर्दै उनले विगतका अनुभव र इतिहासबाट सिकेर अघि बढ्न सुझाव दिइन्। मुलुक सञ्चालनमा अनुभव, सहिष्णुता र राजनीतिक परिपक्वता आवश्यक पर्ने उनको भनाइ थियो।
‘अहिले ३५–३७ वर्षका प्रधानमन्त्री र युवा नेताहरू आएका छन्। उनीहरूले अघिल्ला अनुभवलाई मनन गर्नुपर्छ, इतिहासबाट सिक्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरू पनि एक दिन त्यही चरणमा पुग्छन्। पार्टीका नेता सधैं युवा भएर बस्दैनन्।’
सत्तामा पुगेपछि प्रतिशोधको राजनीतितर्फ उन्मुख हुन नहुने भन्दै कार्कीले लोकतन्त्रमा सबै पक्षलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन्।
‘आफू सत्तामा आइयो भनेर अर्को पक्षलाई पूर्ण रूपमा समाप्त पार्ने सोच राख्नु हुँदैन,’ उनले भनिन्।
राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र रचनात्मक आलोचना भएमा त्यसले मुलुकलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो। साथै, राजनीतिक दलहरू नै मुलुक सञ्चालनका प्रमुख शक्ति भएकाले आफूले उनीहरूलाई कहिल्यै कम नआँकेको पनि बताइन्।
कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को प्रशंसा समेत गरिन्।





















