जोडिनुहोस
  • होमपेज
  • भारतले भन्यो: चुनावमा उत्साहजनक सहभागिता भयो, स्वागत गर्छौँ

भारतले भन्यो: चुनावमा उत्साहजनक सहभागिता भयो, स्वागत गर्छौँ

भारतले नेपालमा जनताको उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै स्वागत गरेको छ । भारतले नयाँ सरकारसँग काम गर्न उत्सुक रहेकोसमेत उल्लेख गरेको छ ।  नेपालमा सम्पन्न निर्वाचनबारे सञ्चारमाध्यद्वारा सोधिएको प्रश्नहरूको उत्तरमा भन्दै भारतीय विदेश मन्त्रालयले प्रवक्ता रणधीर जैसवालको प्रतिक्रिया सार्वजनिक गरेको छ ।

‘आज नेपालका नागरिकहरूले आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोग गर्दै उत्साहजनक सहभागितासहित निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा हामी स्वागत गर्दछौँ,’ विदेश मन्त्रालयले भनेको छ, ‘गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा सम्पन्न भएका यी निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनता तथा विभिन्न सरोकारवालाहरूलाई बधाई दिन्छौँ।’

भारतले नेपालमा शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गर्दै आएको पनि प्रवक्ता जैसवालले उल्लेख गरेका छन् । निर्वाचनका लागि प्रतिबद्धताअनुसार भारतले आवश्यक सवारीसाधनलगायतका सामग्री उपलब्ध गराएको समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

‘हामी पारस्परिक हितका लागि हाम्रो दुई देश र जनताबिचका सुदृढ तथा बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ भारतले भनेको छ ।