जोडिनुहोस
  • होमपेज
  • दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

काठमाडौं । कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरीको सिसाठाँटी जोड्ने मल्याङ्दीखोला मोटरेबल पुल निर्माण दुई वर्षदेखि सुस्त गतिमा अघि बढ्दा स्थानीयवासी चिन्तित बनेका छन्। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना हालसम्म २५ प्रतिशत मात्र प्रगतिमा सीमित रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ असारमा सम्झौता भएको उक्त पुल २०८२ असारभित्र सक्ने लक्ष्य राखिएको थियो। तर निर्माण कम्पनीले समयमै काम नगर्दा एक वर्षदेखि साइटमा उल्लेखनीय गतिविधि हुन सकेको छैन। पुलका दुवैतर्फ पिलर निर्माण सुरु गरिए पनि त्यसपछि काम लगभग ठप्प भएको स्थानीयको भनाइ छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार सम्झौता अवधि सकिएपछि थप छ महिनाको म्याद दिइएको थियो। तर थपिएको समयसीमासमेत सकिँदा भौतिक प्रगति २५ प्रतिशतभन्दा माथि जान सकेन। २० मिटर लामो पुल निर्माणका लागि रु २ करोड ५० लाख २८ हजार ६६७ मा सम्झौता गरिएको थियो।

स्थानीय बासिन्दाले वर्षायाम नजिकिँदै जाँदा अझै पनि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने अवस्था कायम रहेको बताएका छन्। पुलको जग खनेर अव्यवस्थित रूपमा छाडिएकाले आसपासका बस्तीसमेत बाढी र पहिरोको जोखिममा परेको स्थानीय शिव अधिकारीले बताए।

उनका अनुसार पुल नबन्दा सिमखेत–सिसाठाँटी–थापाठाना सडक वर्षायाममा करिब चार महिना पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ। हिउँदमा खोला हुँदै जोखिमपूर्ण रूपमा सवारी सञ्चालन भए पनि वर्षामा सडक सम्पर्क नै विच्छेद हुने समस्या दोहोरिँदै आएको छ। स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालयमा पटक–पटक गुनासो गरे पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेका छन्।

यता निर्माणको जिम्मा पाएको सेट स्क्वायर जेभी, राजविराजले भने निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काममा ढिलाइ भएको स्पष्टीकरण दिएको छ। कम्पनी प्रमुख राकेशकुमार शाहका अनुसार सम्झौता भएको समयको तुलनामा चालु आर्थिक वर्षमा सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेकाले निर्माण गति प्रभावित भएको हो। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई तत्काल काम तीव्र बनाउन निर्देशन दिएको छ। कार्यालय प्रमुख अर्यालले अब पनि निर्माणले गति नलिए म्याद थप नगरी सम्झौता रद्द तथा धरौटी जफत गर्ने चेतावनी दिएका छन्।