देश
अधिकृत क्याडेटलाई प्रधानमन्त्रीको निर्देशन– अनुशासन, नेतृत्व र राष्ट्रसेवामा समर्पित बनौं

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई राष्ट्र, जनताप्रति समर्पित भई अनुशासित र जिम्मेवार नेतृत्व प्रस्तुत गर्न आग्रह गरेका छन्। अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षणपछि अधिकृतको जिम्मेवारी सम्हाल्न लागेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले मातृभूमिप्रतिको समर्पण र कर्तव्यनिष्ठा सैनिक जीवनको मूल आधार भएको उल्लेख गर्दै नयाँ अधिकृतहरूले जिम्मेवारीको गाम्भीर्य बुझेर नेतृत्व क्षमता प्रदर्शन गर्नुपर्ने बताए। विभिन्न सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै बलियो, एकीकृत र सक्षम टोली निर्माण गर्न सफल हुने विश्वास पनि उनले व्यक्त गरे।
प्रधानमन्त्री शाहले सैनिक आचरण, अनुशासन, चेन अफ कमाण्ड र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई हृदयङ्गम गर्दै आफ्नो दायित्वमा सदैव सजग रहन अधिकृतहरूलाई निर्देशन दिए। साथै, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने भावनालाई आत्मसात् गर्दै राष्ट्रसेवामा समर्पित हुन उनले आग्रह गरे।
समारोहमा अधिकृत क्याडेटहरूले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको अध्ययन पूरा गरी दीक्षित समेत भएका थिए। प्रधानमन्त्री शाहले शैक्षिक तथा सैनिक दुवै प्रशिक्षण सफलतापूर्वक पूरा गरेकोमा उनीहरूको प्रशंसा गरे।






















