
नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिन गर्न आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका पदाधिकारीहरूले पनि आफ्नो सम्पत्तिको स्रोत स्पष्ट रूपमा देखाउनुपर्ने धारणा राखे।
थापाले सार्वजनिक पदमा रहेकाहरूलाई लक्षित गर्दै आफ्नो सम्पत्ति वैध रूपमा आर्जन भएको प्रमाणित गर्न सक्ने साहस हुनुपर्ने प्रश्न उठाए।
उनले भने, “हामी जसरी हिम्मत गरिरहेका छौँ, प्रधानमन्त्री, मन्त्रीहरूले पनि आफ्नो सम्पत्ति स्रोत देखाउन सक्नुपर्छ। नागरिकले सोध्दा तपाईंहरूको सम्पत्तिको वैध स्रोत के हो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ।”
उनले सरकारमा रहेका व्यक्तिहरूमाथि हुने छानबिन प्रक्रियाबारे पनि टिप्पणी गर्दै निष्पक्षता र पारदर्शिताको आवश्यकता रहेको बताए।
यसैबीच उनले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भएको छानबिन प्रक्रियाबारे प्रश्न उठाउँदै राज्य संयन्त्र निष्पक्ष हुनुपर्नेमा जोड दिए।
थापाले छानबिनलाई “झाँक्री पनि आफैँ, बोक्सी पनि आफैँ” शैलीको भएको टिप्पणी गर्दै निष्पक्ष र पारदर्शी प्रक्रिया आवश्यक रहेको बताए।





















