
एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवार पाल्दै आइरहेकी थिइन् । जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट फालिदिएको धामीले बताइन् ।
घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उनले बताइन्।
धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । ‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उनले भनिन्, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’
डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए ।
‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको बताए ।
‘हामीले पनि भिडियो आएपछि मात्रै थाहा पायौँ । इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ । घटनाबारे के–कस्तो हो, हामी डिभिजन वन कार्यालयसँग पनि बुझ्दै छौँ,’ उनले भने ।





















