जोडिनुहोस
  • होमपेज
  • लेबनानमा नेपाली शान्ति सैनिकमाथि हमला, सबै सैनिक सुरक्षित

लेबनानमा नेपाली शान्ति सैनिकमाथि हमला, सबै सैनिक सुरक्षित

लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल)मा कार्यरत नेपाली सैनिकको गणमा बम हमला भएको छ । लेबनानको दक्षिणतर्फ इजरायली सिमानानजिकै मिस इल जाबेलमा रहेको नेपाली सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो ।

घटना शुक्रबार बेलुकाको हो । आक्रमणमा नेपाली सैनिकलाई कुनै क्षति नभएको सेनाले जनाएको छ । त्यहाँ नेपाली सेनाको विष्णु दल (शान्ति सेना)को ६७औँ डफ्फा कार्यरत छ । लेबनानमा हाल ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनामा कुनै मानवीय क्षति नभएको बताए । सगरमाथा टेलिभिजनसँग कुरा गर्दै बस्नेतले भने – ‘नेपाली शान्ति सैनिकहरू बस्ने एउटा घरमा बम आक्रमण भएको रहेछ, घरमा क्षति भएको छ, तर मानवीय क्षति केही पनि भएको छैन ।’
प्रवक्ता बस्नेतका अनुसार राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षा प्रोटोकल लेभल २ अनुसार अहिले नेपाली सैनिक सुरक्षीत रुपमा बंकरमा बसेका छन् । नेपाली सेना र राष्ट्रसंघले दिएको सुरक्षा प्रोटोकल पालना गर्न नेपाली सैनिकलाई भनिएको पनि उनले बताए । बस्नेतले भने – ‘हाम्रा सैनिकको सुरक्षाका सन्दर्भमा सम्बन्धित निकायमा चासो राखिएको छ । नेपाली सैनिकको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकतामा छ । परिस्थितिलाई हामीले नियालिरहेका छौँ ।’

लेबनानमा हाल कुल सात हजार ६२३ शान्ति सैनिक कार्यरत छन् । यीमध्ये नेपाली सेनाको एउटा गण तथा सैन्य पर्यवेक्षकसहित जम्मा ५५४ जना कार्यरत रहेको सेनाले जनाएको छ । लेबनानमा नेपाली फौज सातौँ ठुलो संख्यामा छ । त्यहाँ नेपाली सैनिकभन्दा धेरै फौज इटाली, इन्डोनेसिया, स्पेन, फ्रान्स, भारत र घानाबाट गएका छन् । विश्वभरिका संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कुल ४९ हजार २५१ सैनिक कार्यरत रहेको राष्ट्रसंघको तथ्यांक छ ।

बस्नेतका अनुसार, विस्फोट कताबाट भएको हो भन्ने विषयमा राष्ट्रसंघले अनुसन्धान गरिरहेको छ । उनले भने ‘अहिलेको परिदृश्यको विश्लेषण गर्दै संयुक्त राष्ट्रसँघ सँगको समन्वयमा आव्श्यक अनुरुप थप रणनीतिपनि तय भइसकेको छ ।’ राष्ट्रसंघको निर्देशनअनुसार लेबनानको सीमा क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेना सन् १९७८ देखि खटिँदै आएको छ ।