जोडिनुहोस
  • होमपेज
  • भारतको सहयोगमा मुस्ताङमा छात्रावास भवन उद्घाटन, लोमान्थाङको गुम्बा विद्यालयलाई नयाँ सुविधा

भारतको सहयोगमा मुस्ताङमा छात्रावास भवन उद्घाटन, लोमान्थाङको गुम्बा विद्यालयलाई नयाँ सुविधा

भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ।

सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको दुईतले भवनमा चारवटा ब्लक र आवश्यक पूर्वाधार समावेश गरिएको छ। परियोजना लोमान्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको पाठ्यक्रमअनुसार औपचारिक शिक्षा पनि प्रदान गर्दै आएको छ।

उद्घाटन समारोहमा भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको बताए।

लोमान्थाङ गाउँपालिका, विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थीहरूको आवासीय सुविधा र समग्र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६ सय परियोजना सञ्चालन गरिसकेको जनाएको छ। तीमध्ये गण्डकी प्रदेशमा ६३ वटा र मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना रहेका छन्।

यसअघि पनि भारत सरकारले मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपलब्ध गराएको थियो। गण्डकी प्रदेशभर भने स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस हस्तान्तरण गरिसकेको छ।

भारत र नेपालबीचको विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यले यस्ता परियोजनामार्फत स्थानीय पूर्वाधार विकास र सामुदायिक समृद्धिलाई प्राथमिकता दिइएको भारतीय पक्षले जनाएको छ।