काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई नहेप्न चेतावनी दिएकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रलाई लिएर उपसभामुख रानामगरलाई नहेप्न चेतावनी दिएकी हुन् ।
‘एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट आएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न चाँही नखोज्नु होला,’ श्रेष्ठले भनिन्, ‘साच्चैकै विधि, पद्दति बनाउन चाहनुहुन्छ, गर्नुस् । एक वर्ष अघिदेखि पत्र हातमा बोकेर बस्नुभएको हरेछ त, कुन बेला ठोकौँ भनेर । साँच्चिकै छानबिन गर्ने हो भने गरियोस् । पार्टी पनि तयार छ । तर, प्रोपर तरिकाले होस् ।’
उनले उपसभामुख रानामगरको नामबाट मिडिया ट्राइल भइरहेको भनदै आपत्ति जनाइन् । श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेसलाई भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि चुनौती दिइन् ।
‘मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंले डिक्लियर गर्नुभयो,’ सांसद श्रेष्ठले कांग्रेस सांसद रामहरि खतिवडाप्रति इंगित गर्दै प्रश्न गरिन्, ‘डिक्लियर गर्नुस् न त, भुटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ ?’
आइतबारकै बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सघाउने आग्रह गरेका थिए ।
उनले इमानदार महिलाको चरित्र हत्या गर्ने गरी मानव बेचिबखान जस्तो गम्भीर आरोप लगाइएको बताइन् ।
उनले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई हटाउने योजनासहित यस्तो आरोप लगाइएको बताइन् । ‘मिडिया ट्रायल गरेर उपसभामुख जस्तो इमानदार मान्छेलाई चरित्र हत्या गरेको देखिन्छ । एउटा महिलालाई चरित्र हत्या गरेका छन्’, उनले भनिन्, ‘संवैधानिक परिषद्मा अल्पमत परियो भनेर मिडिया ट्राल गर्ने छुट कसैलाई छैन । छानबिन गरौँ, सबैको छानबिन हुनुपर्छ ।’
यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा एमालेका सांसाद रघुजी पन्तले उपसभामुखको विषय कुरा उठाएपछि सुमनाले जवाफ दिएकी हुन् ।