जोडिनुहोस
  • होमपेज
  • गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

गणतन्त्रवादीकै कारण हौसिए राजावादी  !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले राजनीति तरङ्गित बन्न पुगेको छ । उनले बढाएको सक्रियतालाई राजनीतिक दलले चासोका साथ चुनौती पेस गरिरहेका छन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उनलाई उचाल्न खोजेको देखिन्छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले देशमा प्रजातन्त्रको अभ्यास गर्नुपर्ने भन्दै अहिलेको राजनीतिक प्रणालीमाथि चर्को बहस छेडे । आफूलाई साथ दिन अपिल समेत गरे । यसपछि राजनीतिक दलहरूले प्रतिक्रिया दिन थाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजालाई नारायणहिटी ल्याउने समय आएको मात्रै भनेँ, हात समाएरै ल्याउने भन्यो ।

शाह करिब एक महिना पोखरा बसेर आइतबार काठमाडौं फर्किए ।  उनी काठमाडौं फर्किने क्रममा पोखरा र काठमाडौं विमानस्थल क्षेत्रमा उनका समर्थकहरूले शक्ति प्रदर्शन गरे । हजारौँ समर्थकलाई सडकमा उतारेर उनी गाडी चढेर सँगसँगै निर्मल निवास पुगे ।

शाह गाडीमा तथा समर्थक पैदलै विमानस्थलबाट निर्मल निवास पुगेका थिए । पूर्वराजालाई नै र्‍यालीमा सहभागी गराएर समर्थकहरू सडकमा निस्किए । र्‍यालीका क्रममा उनीहरूले सदाझैँ ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरे । गणतन्त्रको प्रतीक राष्ट्रपतिका विषयमा र्‍यालीमा कुनै विरोध सुनिएन ।  तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भने उनीहरूले ‘निकृष्ट’ भाषामै नाराबाजी गरे ।

र्‍यालीमा देखिएको रोचक दृश्य हो –भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर । पूर्वराजा ज्ञानेन्द्रसँगै र झन्डै उत्रै आकारमा राखिएको तस्बिरलाई पूर्वराजाजत्तिकै महत्त्व दिएको देखिन्थ्यो । ‘राजतन्त्र पुनःस्थापना गरौं’, योगी आदित्यनाथ लेखिएको तस्बिरमा हिन्दुवादी प्रदीप विक्रम राणा लेखिएको छ । र्‍यालीमा यसअघि बैंकहरुविरुद्ध आन्दोलन गर्ने अभियन्ता दुर्गा प्रसाईँ पनि सहभागी थिए ।

पूर्वराजाको पक्षमा ¥याली देखेपछि प्रधानमन्त्री तथा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली भने छक्क परे । फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे–  ‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ ?’

ज्ञानेन्द्रको सक्रियतालाई भने धेरैले उनको बढ्दो उमेर, छोरा पारस शाहप्रति जनताको बुझाई र राजसंस्थाको लिगेसीको चिन्तालाई लिएरै भविष्यवाणी गर्ने गरेका छन् । तर, राजसंस्थाप्रतिको जनमत भने मापन गर्ने गरी राजनीतिक नेतृत्व तयार हुने कुनै संकेत देखाएको देखिन्न ।

जनतामा सार्वभौमसत्ता निर्भर रहने हो भने राजाको भक्तिगान अब राप्रपाले नै गाउने स्थिति छैन । तर, राजावादी दलको प्रस्ताव र ज्ञानेन्द्रको चाहनामै नदेखिएको तालमेलले पनि ज्ञानेन्द्रको सत्ता रोहणको चाहनामा जटिलता थपिएको देखिन्छ ।

गणतन्त्रका नेताहरूका लागि आफ्नो कार्य सम्पादनको नालायकी ढाक्न सबैभन्दा सजिलो अस्त्र राजतन्त्रको भूत भएको छ ।
जसरी आफ्नो व्यक्तिगत नालायकी र राजनीतिक निरङ्कुशताका कारण देशलाई गणतन्त्रतर्फ डो¥याउन तत्कालीन राजा ज्ञानेन्द्रको ठूलो योगदान थियो, त्यसैगरी हजार प्रयास गर्दा पनि धेरै चर्चा पाउन नसक्ने नेपालको सन्दर्भहीन राजतन्त्रलाई चर्चामा ल्याउन गणतन्त्रका नेताहरूको ठूलो योगदान छ ।

गणतन्त्रका झण्डै दुई दशकमा पूर्वराजा ज्ञानेन्द्रले जनताको मन छुने न एउटा कुनै लोकप्रिय सामाजिक काम गर्न सके, न त राजनीतिक परिस्थितिबारे उनको कुनै विश्लेषणले देशलाई केही फाइदा पु¥याएको छ ।

न त राजतन्त्र हुँदा प्रत्यक्ष लाभ लिने झुन्डद्वारा परिचालित केही व्यक्तिबाहेक जनताको कुनै तप्काले उनीबाट केही अपेक्षा गरेका छन् । यी  सबै यथार्थका बाबजुद अहिले किन राजतन्त्रले राजनीतिक चर्चामा ‘स्पेस’ पाइरहेको छ ?

जनताको कुरा छाडिदिऔँ, कार्यकर्ताले जब आफ्ना नेताको नालायकी, स्वेच्छाचारिता र अपारदर्शी जीवनशैलीबाट बिरक्तिएर उनीहरूप्रति निराशा व्यक्त गर्छन्, तब नेताले सार्वजनिक रूपमा राजतन्त्रविरुद्ध हुङ्कार गर्छन् ।

मानौँ, राजतन्त्र फेरि आउनै लाग्यो ! अनि ‘सोझा’ कार्यकर्ता आफ्ना नेताको बलिदानपूर्ण इतिहासप्रति तुरुन्त भावुक भइहाल्छन् र राजतन्त्रले गरेका इतिहासको ज्यादतीप्रति आक्रोशित हुन्छन् । जब राजतन्त्र फेरि आउने शंकाको हल्ला बजारमा केही दिन चल्छ, त्यो हल्ला फैलाउन राजतन्त्रवादीभन्दा गणतन्त्रवादी नै बढी अग्रसर हुन्छन् ।

कुनै पनि देश गरिब हुनुका ‘इन्डिकेटर’ हजार होलान् तर तीमध्ये एउटा के छ भने देश जति–जति गरिब हुन्छ र जति–जति कमजोर हुन्छ, त्यहाँका शासक आचरणमा त्यति–त्यति राजतन्त्रजस्तै सामन्ती हुन्छन् । आफू पूरै राजतन्त्रको सिको गरेर शासक हुने अनि जनताले ‘जनताका नेता’ भनिएकाहरू पनि त्यही राजाजस्तै सामन्त भएका छन् ।

नेपालमा राजतन्त्र फर्किएला कि भन्ने कुरा नेपाल पुनः हिन्दु राज्यको परिचयमा फर्केला कि भन्ने विषयसँग पनि जोडिएको छ । भारतमा नरेन्द्र मोदीको सत्तामा पुनः विजयपछि अब दक्षिणबाट त्यस्तो राजनीतिक चेष्टा हुन्छ कि भनेर आत्तिने एक थरी छन्, आश गरेर मात्तिने अर्को थरी ।

तर आफ्नै देश भारतको धर्म निरपेक्षताको प्रावधान हटाउने चर्चासमेत गर्ने हिम्मत नभएको राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्य कामना गर्नु एउटा कुरा, राजनीतिक बल लगाउने गल्ती गर्न सक्दैन । भारतका केही ‘गुरु महात्मा’ र राजनीतिकर्मीले नेपालका राजावादी र हिन्दुवादीलाई बेलाबेलामा हौसला दिने काम भएको हुन सक्छ । जबसम्म हाम्रा गणतन्त्रका ‘धर्म निरपेक्ष’ नेताहरू स्वयं नै त्यो षडयन्त्रमा सामेल हुँदैनन्, यो सम्भव छैन ।

धेरै टिप्पणी गरिएका