जोडिनुहोस
  • होमपेज
  • कक्षा १२ को परीक्षा आजदेखि सुरु, देशभर १५९१ केन्द्र निर्धारण, कडाइका साथ परीक्षा सञ्चालन गरिने

कक्षा १२ को परीक्षा आजदेखि सुरु, देशभर १५९१ केन्द्र निर्धारण, कडाइका साथ परीक्षा सञ्चालन गरिने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरूमा एकसाथ कक्षा १२ को परीक्षा सुरु गरेको छ। बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र ढुक्क भएर परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आग्रह गरेका छन्। परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसका लागि बोर्डले देशभर १५९० र जापानमा १ गरी कुल १५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा १६२ र सबैभन्दा कम मनाङ–मुस्ताङमा १–१ केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

परीक्षा सञ्चालनका लागि देशभर त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब दुई हजार कर्मचारी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले बताए।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना कसैलाई पनि परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन। परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

परीक्षाको मर्यादाविपरीत शिक्षक, कर्मचारी, निरीक्षक वा परीक्षार्थीहरूबाट मोबाइल लगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा जाँच वा अनुगमन गर्दा फेला परेमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ। परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा हुँदैछ। परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८० र ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका