
उदासी, विवशता र भविष्यप्रतिको आशाले भरिएका हजारौं नेपालीहरू हरेक वर्ष खाडी मुलुकहरूतिर रोजगारीका लागि जान्छन्। उनीहरू आफ्ना परिवार, आफ्ना गाउँघर र चिनेका मानिसहरू छाडेर पुग्छन् त्यस मुलुकका भाषा नबुझी, कानुन नबुझी। त्यहाँ उनीहरूले बाटो बनाउँछन्, घर सफा गर्छन्, खाना पकाउँछन्।
तर कहिलेकाहीँ कुरा गलत दिशातिर जान्छ। झूटा आरोप लाग्दा, सम्झौता उल्लंघन हुँदा वा मालिकको बदला स्वरूप उनीहरू जेल पुग्छन्। एक्लै। चुपचाप। बेवास्तामा
“आफ्नो श्रीमती र छोराछोरीको लागि राम्रो जीवन खोजेर हो त मानिस टाढा विदेश जान तयार हुने, होइन र ? सुरेश प्रसाद शाह, आप्रवासी कामदार (Al Jazeera)
पूर्वी नेपालका दुर्गा प्रसाद तिम्सिनाको उदाहरण हेरौं, जसलाई दीपक जैसी भनेर चिनिन्थ्यो। उनी भारतमा पक्राउ परेपछि कहिल्यै मुद्दा नचलेको अवस्थामा ४० वर्ष जेलमा बसे। कुनै ठोस प्रमाण थिएन। २०२१ मा उनी कोलकाताको डुम डुम सेन्ट्रल करेक्सनल होमबाट परोलमा रिहा भएपछि लुम्बाक फर्किए एकदमै कमजोर, हिँड्न नसक्ने, जीवनभरको आघात बोकेर।(Global Voices, 2021)
दुर्गाको कथा दुर्लभ होइन। गोविन्द प्रसाद मैनालीको घटनालाई सम्झौं जापानमा झूटो हत्याको आरोपमा दोषी ठहर गरिएका नेपाली आप्रवासी कामदार। पर्याप्त प्रमाण नभए पनि २००० मा उनलाई जेल सजाय सुनाइयो। १५ वर्षपछि डीएनए परीक्षणले निर्दोष प्रमाणित गरेपछि उनी तुरुन्तै नेपाल फर्काइए। कैद भुक्तानको क्रममा भिषा अवधि नाघेको आरोपमा उनलाई देशनिकाला गरिएको थियो। अम्नेष्टी इन्टरनेशनलका अनुसार जापानको कानुनी प्रणालीमा धेरैजसो अभियुक्तलाई कानुनी परामर्श वा मौलिक अधिकारबाट वञ्चित गरिन्छ।(Amnesty International)
यी घटनाहरूले देखाउँछ माइग्रेन्ट कामदारका लागि न्याय अनिश्चित छ, केवल खाडीमा मात्र होइन, जुनसुकै देशमा पनि। २०२१ मा मात्रै कम्तीमा ३६० जना नेपाली कामदार खाडी मुलुकमा थुनिएका थिए मात्र यूएईमा १३६ जना र साउदी अरेबियामा १४३ जना (Migrant-Rights.org)। यिनले थाहा पाएका संख्या मात्र हो। अन्य रिपोर्टअनुसार १,३०० भन्दा बढी नेपालीहरू विभिन्न मुलुकका जेलमा छन् (Indepth Story, 2024)। उनीहरू नबोलेकाहरू, बिर्सिएकाहरू हुन् ।
नेपाल सरकारसँग वैदेशिक रोजगारी कल्याण कोष छ । जसले २०१८ देखि हरेक थुनिएको कामदारलाई १५ लाख रुपैयाँसम्म कानुनी सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। तर पछिल्ला ६ वर्षमा यूएईमा जेलमा परेका दुईजनालाई मात्र सहयोग पुगेको छ। बाँकीहरू? बेवास्ता। दूतावास या त अत्यधिक व्यस्त छन् या त उदासीन। धेरैजसोले कैदी भेट्न जान पनि मान्दैनन्। वकिल वा अनुवादकको प्रबन्ध हुँदैन। केही दूतावास कर्मचारीहरूमाथि रिक्रूटमेन्ट कम्पनीको पक्षपाती भएको आरोपसमेत लागेको छ (SOSCBAHA, 2022)।
हरेक तथ्यांकको पछाडि एक जना दुर्गा छन्, एक जना गोविन्द छन् जो उज्यालो भविष्यको आशामा विदेश गएका थिए, तर जब सहयोग चाहियो, आफ्नै देशले त्याग गर्यो। तर यत्तिकै बेलामा देशमा रेमिट्यान्स बगिरहेको हुन्छ। २०२३ मा मात्रै नेपाली आप्रवासी कामदारहरूले ८ अर्ब डलरभन्दा बढी पैसा पठाए (World Bank, 2023)। हाम्रो अर्थतन्त्र उनीहरूको श्रममा निर्भर छ। तर संकटमा उनीहरूलाई हाम्रो प्रणालीले असफल बनाइरहेको छ। तर यस्तो हुनु जरुरी छैन। “सेन्टेन्स ट्रान्सफर” अर्थात् सजाय नेपालमा कटौती गर्ने समझदारी एउटा आशालाग्दो नीति हो, जसले गैरनागरिक जेलमा हुने अमानवीय व्यवहारका विरुद्ध हाम्रो कामदारहरूलाई सहयोग गर्न सक्छ। सजाय ट्रान्सफरले विदेशमा मृत्युदण्ड सजाय पाएका कामदारहरूलाई नेपालमा आजीवन कारावासमा परिणत गराउन सक्छ कहिलेकाहीं त उनीहरूको जीवन नै जोगाउन सक्छ। हालै पारित कानुनी ढाँचाले नेपाललाई यो कार्यान्वयनको मौका दिएको छ (अनुराग देवकोटा, कानुनी विज्ञ, २०२२)।
केही संस्थाहरू जस्तै “पौरखी नेपाल” थुनिएका कामदारहरूलाई सहयोग गर्दैछन्। तर सरकारको सक्रियता नहुँदा तिनको प्रयास सानो टपरीले डुब्न लागेको जहाज बचाउने जस्तै हो। नेपालले अझ धेरै राम्रो गर्नुपर्छ। दूतावासमा कानुनी अधिकृत खटिनुपर्छ। कानुनी सहायता कोष पारदर्शी र छिटो प्रयोग हुनुपर्छ। र, डकुमेन्टेसनको स्थिति कुनै व्यक्तिको न्याय पाउने हकको आधार बन्नु हुँदैन। तर यो जिम्मेवारी केवल सरकारको होइन।
हामी नागरिकहरूको पनि कर्तव्य हो। विशेषतः युवाहरूको। हामी सचेतना बढाउन सक्छौं, पीडित कामदारहरूको आवाज बुलन्द बनाउन सक्छौं, संस्थागत निष्क्रियतालाई चुनौती दिन सक्छौं र जवाफदेहिता माग्न सक्छौं। युवाहरूले डिजिटल क्याम्पेन चलाउन सक्छन्, नीति परिवर्तनको वकालत गर्न सक्छन्, र यस्ता कथा सामाजिक सञ्जाल, विद्यालय, समुदायमा फैलाउन सक्छन्। सचेतना निष्क्रिय होइन, त्यो एक आह्वान हो। साँचो परिवर्तन तब सुरु हुन्छ जब हामी टाढाबाट हाम्रो भविष्य बनाउने ती श्रमिकहरूको पीडालाई बेवास्ता गर्न छाड्छौं। जब कुनै नेपाली कामदार एक्लो, थुनिएको र स्वरहीन अवस्थामा पर्दछ त्यो बेला पनि हामीले नउभिने हो भने, हाम्रो झण्डाले के अर्थ राख्छ?
लेखिका: खष्टिला श्रीम रिजाल