जोडिनुहोस

गैँडाको खाग खरिदबिक्रीको आरोपमा छ जना पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् । उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहा) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ ।

पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन् ।

पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ ९१० को (क)र दफा २६ ९१० को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ ।

उनीहरूलाई सोही ऐनको दफा २६ ९१० बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिए।

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली– व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। यसक्रममा १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको तथा १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई खोप लगाइएको उनले बताए।

नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् । त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङलगायत वक्ताले पूर्णखोप घोषणा भएसँगै भविष्यमा पनि यसलाई कायम राख्न सम्बन्धित सबै सजग हुनुपर्नेमा जोड दिएका थिए ।

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

मंगलबारे– नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ ।

इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य रु सात लाख कायम गरेर रु १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ ।

सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमाधम कालोपत्र गरिँदै

गोरखा– जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत रु ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ ।

सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ ।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने उनले बताए। बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो ।

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन– माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

रवि लामिछानेले सहकारी प्रकरणमा कमोजरी गरेको तथ्य भेटिएको छैन : कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहकारी ठगी प्रकरणमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठोस प्रमाण नभेटिएको बताएका छन् ।

सहकारी ठगीबारे बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि गिरीले यस्तो बताएका हुन् । ‘हामीले बैठकमा सहकारीको रकम अपचलनबारे उपप्रधान तथा गृहमन्त्री लामिछानेको नामबारे पनि कुरा गर्‍यौँ । तर उहाँले सहकारी प्रकरणमा कमजोरी गरेको हो भन्ने तथ्य जुन हिसाबमा आउनुपर्ने हो, आइसकेको छैन’, उनले भने, ‘छानबिनपछि मात्रै कसैलाई दोषी करार गरिनु उचित हुन्छ । छानबिन नभइ कसैलाई दोष लगाउनु हुँदैन। ’

गिरीले यदि लामिछानेले अपचलन गरेको पुष्टि भए, प्रमाण भेटिए कारबाही हुने पनि बताए । ‘कसैले कमजोरी गरेको, आर्थिक हिनामिना गरेको भए, अपचलन गरेको भने कारबाही हुनुपर्छ’, उनले भने, ‘तर पहिले नै हतार गरेर निष्कर्ष निकाल्नु गलत हुन्छ । गृहमन्त्रीको नाम जोडिएका सूर्यदर्शन लगायत सहकारी नाम लेखेर जान कुनै आपत्ति छैन । कसैको कमीकमजोरी देखिन्छ भने कारबाही हुन्छ ।’ तर गिरीले गृहमन्त्रीले अपचलनमा संलग्न भएको आरोपका आधारमा उनको नाममा छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा गलत भएको बताए ।

‘सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘छानबिन समिति बनाउने भएपछि संसद्‍ अवरोध गरिरहनु उचित हुँदैन भनेर हामीले भनिसकेका छौँ ।’

गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानले सो रिटमा प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २५ गते रिट दायर गरेका थिए । पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कूल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गरेका छन् । सर्वोच्चले विश्वासको मत असंवैधानिक ठहर गरेमा अधिकारी पदबाट मुक्त हुनेछन् ।

कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण

काठमाडौं– चालु आर्थिक वर्ष(आव)को १० महिनामा सरकारले ९८ अर्ब बढी सार्वजनिक ऋण थप गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको १० महिनामा सरकारले ९८ अर्ब ८ करोड सार्वजनिक ऋण थप गरेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा अर्थात् गएको असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९२ अर्ब ८ करोड थप भएर २३ खर्ब ९७ अर्ब पुगेको छ । कार्यालयका अनुसार सो ऋणको परिमाण नेपालको कुल गार्हस्थ्य उत्पादनको ४२.०२ प्रतिशत हो । कार्यालयकाअनुसार वैशाख मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड ४ लाख रहेको छ । त्यस्तै, बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्म भने २ खर्ब ६४ अर्ब मात्रै ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार सरकारले वार्षिक लक्ष्यअनुसार आन्तरिकतर्फ ४९ अर्ब र बाह्यतर्फ १ खर्ब ३९ अर्ब ११ करोड ६४ लाख ऋण अझै प्राप्त गर्न बाँकी रहेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको १० महिनामा सावाँ ब्याज सहित सवा दुई खर्ब बढी ऋण भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सो अवधिमा सरकारले सावाँ ब्याज सहित २ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो ।

रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर छानबिन समिति नबनेसम्म संघीय संसद् बैठक चल्न नदिने अडान लिएको छ।

सहकारीको रकम अपचलन प्रकरणबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठकमा कांग्रेस सह-महामन्त्री जीवन परियारले उक्त अडान राखेका हु्न् । ‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न सक्दैन’, उनले भने, ‘जुन व्यक्तिका बारेमा प्रतिपक्षी दलले सहकारीको बचत अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसको छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ ।’

परियारले छानबिन समिति नबनेसम्म संसद्‍ चल्न नदिने अडान राखेकाले सहमितका लागि सत्ता पक्षलाई अर्को प्रस्ताव लिएर आउन भनिएको पनि बताए । ‘मध्यमार्गी बाटो खोज्ने गरी सत्ता पक्षले प्रस्ताव ल्याउने भनेकोछ । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेको नामको विषयमा लचिलो बन्ने कुरै छैन । जसकोबारेमा छानबिनको कुरा उठाएका छौँ, त्यसमा कुरा हुनुपर्छ । उनीमाथि छानबिन हुनुपर्छ, यही दिशामा सहमति भए संसद् पनि खुल्छ ।’

उनले आफूहरूले रविलाई दोषी नभनेको पनि जवाफ दिए । ‘छानबिन के गर्ने भन्ने कुरा पनि भएको छ । दोषी भनेका छौँ भन्ने कुरा आयो, दोषी भए त किन छानबिन चाहियो ? सार्वजनिक पदमा बहाल व्यक्तिमाथि आरोप लागिसकेपछि छानबिन हुनुपर्छ’, उनले भने ।

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बनेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

कानुन मन्त्री पदम गिरीको कार्यकक्षमा मंगलबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी कांग्रेस सह-महामन्त्री जीवन परियारले सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेको नाम राखेर संसदीय समिति नबनाउने हो भने छानबिनको कुनै अर्थ नहुने बताए ।

‘गोरखा मिडिया नेट्वर्क र ग्यालेक्सी टेलिभिजका नामामा सहकारीको करोडौं पैसा अपचलन भएको कुरा प्रष्ट भइसकेको छ । त्यसमा गृहमन्त्री लामिछाने संलग्न रहेको कुरा आज पनि उठाएका छौँ’, उनले भने, ‘त्यसबारेमा थप छलफल गरेर अघि बढ्न सकिने गरी आज हामी उठेका छौँ । हामीले उठाएका विषयमा साझा सहमति जुटाउनेबारे छलफल भएको छ । फेरि बस्ने गरी हामी उठेका छौँ ।’

परियारका अनुसार गृहमन्त्री लामिछानेको नामसमेत उल्लेख गरेर छानबिन समिति नबनेसम्म संसद् बैठक पनि अघि नदिने पक्षमा कांग्रेस यथावत छ । ‘हामीले हाम्रो कुरा राखेका छौँ । जुन व्यक्तिकाबारेमा प्रतिपक्षी दलले सहकारीको रकम अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसबारे छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ’, उनले भने । बैठकपछि कानुनमन्त्री पदम गिरीले अहिले जारी डेडलकको अवस्था अन्त्यको दिशामा छलफल अघि बढेको बताए ।

‘राजनीतिक दलका नेताहरूबीचमा छानबिन समिति बनाउनका लागि कार्यदेश निर्माणका सवालमा हामी कार्यदलका सदस्यहरू नजिक पुगेका छौँ, तर निष्कर्षमा पुगिसकेका छैनौँ’, उनले भने, ‘विकल्पहरूमा छलफल हुँदा सहमतिसहित कार्यदेश निर्माण गरिने तयारी छ । अर्को बैठकमा हामी निष्कर्षमा पुग्छौँ ।’ उनले कुनै व्यक्तिको नाममा भन्दा सहकारीको बचन हिनामिनाको विस्तृत छानबिन हुने बताए ।

‘छानबिनबाट सहकारीको रकम अपचलनमा संलग्नमाथि कारबाही गरिने छ । बचतकर्ताको बचत पनि सुरक्षित गरिने छ’, उनले भने, ‘सहकारीबाट त्यसको मूल्यमान्यताबाहिर गएर कसले कति पैसा लिएको छ ? आदि आज विषयमा कुरा भएको छ । त्यही आधारमा कार्यदेश बन्छ।’

कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आज गम्भीर छलफल भएको बताउँदै यसलाई सहमतिमै टुंग्याउनुपर्छ भन्ने भएको उल्लेख गरे ।

‘शीर्ष नेताहरूले सहमतिमै मिलाउनुपर्छ भनेकाले हामी त्यही दिशामा छौँ । केही प्रस्तावमा छलफल भइरहेको छ, तीबारे मध्यमार्गी बाटो खोज्ने काम भइरहेको छ’, उनले भने, ‘हामीले स्पष्ट रुपमा हामी कार्यदल र छानबिन समितिमा बस्दा समस्या हुन्छ भने बस्दैनौँ भनेका छौँ । टीओआर बन्ने कुरामा अप्ठेरो हुन्छ भने म कार्यदलमा पनि बस्दिनँ भनेको छु ।’

उनले एउटा व्यक्तिलाई लक्षित गरेर अहिले नै दोषी करार गरिनु गलत भएको बताए । ‘हामी सुरुदेखि नै एउटा आरोपका आधारमा एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने पक्षमा छौँ’, उनले भने, ‘आरोपकै आधारमा संसदीय समिति बन्नु हुँदैन भन्ने हाम्रो अडान छ । समस्या भएका विषयमा बनाउनुपर्छ भन्नेमा हामी छौँ । कांग्रेसले आरोपकै आधारमा संसदीय समिति बनाउनुपर्छ भनेको हामी त्यसविरूद्ध छौँ ।’

संसदका गतिविधि राजनीतिक हितमा छैनन् : माधव नेपाल

जनकपुरधाम– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदमा भइरहेकका गतिविधि राजनीतिक हिसावमा सुखद नरहेको बताएका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको गतिरोध संवाद र समझदारीका साथ समाधान गर्नुपर्ने बताए । उनले संसदमा भइरहेको गतिविधी देश र राजनितिका लागि फाइदाजनक नरहेको समेत बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपि शर्मा ओलीतर्फ संकेत गर्दै केही नेताले जथाभावी बोलेकै कारण देश आज यो अवस्थामा आइपुगेको बताए । उनले आफूले बोलेर नभइ काम गरेर जाने सोच बनाएको स्पष्ट पारे । उनले देशमा भइरहेको राजतिनिक दलको फुट गलत रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको सहकार्य जारी रहने बताए ।

मधेश प्रदेशमा एमाले र माओवादीलाई नसघाए एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा रहेको प्रदेश सरकार ढल्ने जोखिम छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएको एमाले र माओवादी सरकारमा गएका छैनन् । अध्यक्ष नेपालले संघीय सरकारमा फरक दल र मधेश प्रदेशमा फरक दलको सरकार रहेकाले अब परिस्थितिअनुसार अघि बढ्ने बताए ।

उनले आफूहरु संघीय सरकारमा र मधेश प्रदेश सरकारमा समेत सहभागी रहेकाले नयाँ कोर्ष अनुसार अघि बढ्ने बताएका हुन् । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतदिएको बताउँदै अध्यक्ष नेपालले मधेश प्रदेश सरकारको नेतृत्वमा जसपा नेपाल रहे पनि आफूहरुमाथि ‘मोरल’ प्रश्न उठेको बताए ।

उनले मधेश प्रदेश सरकारको सवालमा आफूहरुमाथि नैतिकताको प्रश्न खडा भएको स्पष्ट पार्दै केन्द्रमा नेकपा माओवादी केन्द नेतृत्वको सरकार रहेको बेला जसपा नेपाल नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई समर्थन गरेमा नैतिकताको प्रश्न उठ्ने भएकाले नयाँ ढंगले अघि बढ्न खोजेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरिसके पछि मधेश प्रदेशको सरकारमा पनि उथलपुथल हुने भएकाले अब के गर्ने भन्ने बारेमा छलफल गर्ने बताए ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँ तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।