Breaking News
बढुवा भएकै दिन एआईजी ज्ञवाली अख्तियारको निगरानीमा, नागरिकता छानबिन गर्न गृहलाई पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी (सोमबार मात्रै एआइजी बढुवाको निर्णयमा परेका) श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको रहस्य खुलेको छ।
अख्तियारको पत्रलाई बेवास्ता गर्दै गृहले सोमबार क्याबिनेटमा ज्ञवालीलगायत ५ जना डिआइजीलाई बढुवा गर्ने प्रस्ताव लगेको हो। मन्त्री परिषद्ले सोमबारै बढुवा गर्ने निर्णय गरेको थियो।
अख्तियारका अनुसार सोमबार ज्ञवालीमाथि छानबिन गर्न र कारबाही किन गर्न नपर्ने हो ? भन्ने आशयको पत्र गृहमा पुगेको थियो। अख्तियारको निर्देशनात्मक पत्रलाई गृहले लत्त्याइदिएपछि त्यहाँका कर्मचारी आश्चर्य चकित बन्न पुगेका छन्।
गृह सचिव विनोद सिंहले अख्तियारको पत्र आएको बारे आफूलाई जानकारी नभएको बताए। उनले भने, पत्र आएको होला, मेरो टेवलमा आइपुगेको छैन। ज्ञवालीले एआईजीको फुली नै लगाए पनि छानबिन गर्न मिलिहाल्छ। म के रहेछ बुझ्छु।
एआईजीमा बढुवा गर्ने निर्णय भएपछि ज्ञवाली आईजीपी बन्ने दौडधुपमा लागेका छन् ।





















