जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

मलेखु । जिल्लाका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् ।

बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो रङको लामो संकेत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको हुनुपर्ने, एम्बुलेन्सको वर्गीकरण खुल्ने चिह्न हुनुपर्ने, निलो रङको कम्तीमा ३० सेन्टिमिटर दायाँबायाँ र पछाडि तीनतर्फ चिह्न राखिएको हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ ।

राजस्व छुट प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्ने, एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्डमा प्रष्ट लेखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताए।

मापदण्ड पालना नगरेमा कानुनबमोजिम कारबाहीको व्यवस्था गरेको भए पनि धादिङमा निर्वाध रुपमा सञ्चालित एम्बुलेन्सका बारेमा सम्बन्धित निकायको ध्यान नभएको स्थानीय बताउँछन् ।

दुई वर्षअघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्लामा सञ्चालित ४२ एम्बुलेन्समा जीपीएस राखेको थियो । हरेक वर्ष गर्ने नवीकरण एम्बुलेन्स सञ्चालक आफैँले गर्नुपर्ने प्रावधान रहेको बताउँदै छत्कुलीले विभिन्न प्रतिष्ठानको नाममा सञ्चालन गरिएका र अन्य एम्बुलेन्सले जीपीएस राखेको जानकारी नभएको उनले जानकारी दिए।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सदस्य सचिव रहने व्यवस्था छ । जिल्लामा ‘क’ र ‘ख’ वर्गका मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख भए पनि समितिको कार्यालयमा रहेको अभिलेख अनुसार हाल ५२ एम्बुलेन्स सञ्चालनमा आएका छन् । तीमध्ये अधिकांश ‘ग’ वर्गमा पर्दछन् ।

हरेक वर्ष नवीकरण गर्नुपर्ने र समितिबाट सिफारिस लिनुपर्ने व्यवस्था भएको जनाउँदै तीन वर्षसम्म कुनै पनि एम्बुलेन्स नवीकरण गर्न नआएको सचिवालयको जिम्मेवारीसमेत सम्हालेका सूचना अधिकारी छत्कुलीले बताए। तसर्पु स्वास्थ्य चौकी, धुनीबेँसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाँक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स मात्र ‘ख’ वर्गका छन् । ख वर्गका एम्बुलेन्सले समेत नवीकरण नगरेका र निवेदन नदिएका उनको भनाइ छ ।

जिल्ला अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स गत असार ५ गतेदेखि बिग्रिएर थन्किएको छ । चालक फेरबदल गरेपछि बुझबुझारत गर्दा बिग्रिएको अवस्थामा रहेकाले मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएसँगै बजेट व्यवस्थापनपछि सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी डा राम रिजालले बताए । युनाइटेड सिमेन्ट उद्योगले सञ्चालन गरेको एम्बुलेन्स एक वर्षदेखि, ताल्ती स्वास्थ्य चौकीको चार महिनादेखि बिग्रिएर थन्किएका छन् ।

सरकारी मापदण्ड र मुलुकको कानुन अनुसार मानिसको जीवनसँग सरोकार राख्ने एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनको काम एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। कानुन विपरीत सञ्चालित एम्बुलेन्सलाई कानुनी दायरामा ल्याएर कारबाही गरिनेमा उनले जोड दिए।