जोडिनुहोस
  • होमपेज
  • आँबुखैरेनीमा डेंगू नियन्त्रणका लागि पूर्व तयारी

आँबुखैरेनीमा डेंगू नियन्त्रणका लागि पूर्व तयारी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगू नियन्त्रणका लागि पूर्व तयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेंगूको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्व तयारी थालेको हो । गत वर्ष गर्मी मौसममा तनहुँ डेंगूबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार डेंगूबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो ।

आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेंगूको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए । उनका अनुसार गत गर्मीमा यहाँका एक सयभन्दा बढी सङ्क्रमित भएका थिए ।

‘गत वर्षको गर्मीमा डेंगूबाट जनधनको क्षति भएको थियो । अब वर्षात् सुरु हुने समय भएकाले स्थानीयमा सजगता अपनाउनुपर्ने अवस्था छ’, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने, ‘लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम सञ्चालनमार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यसको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्छ ।’

डेंगू नियन्त्रणका लागि गाउँपालिकाले छवटै वडा कार्यालय, आठ स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिसकेको छ । उपाध्यायले भने, ‘सबै वडा कार्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र आम जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ ।’ उनका अनुसार यसक्रममा लामखुट्टेको बासस्थान खोजी गरी फूल पार्ने ठाउँ र लार्भा नष्ट गरिनेछ ।

अभियानका क्रममा आआफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने, टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिनेलगायत लामखुट्टे नष्ट गर्ने विधिका बारेमा स्थानीयमा जनचेतना जगाउने काम थालिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायको भनाइ छ ।

बिहान र साँझपख डेंगूको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घरबाहिर नजाने, जानैपरे शरीर पूरै छोपिने किसिमका लुगा लगाउने, खेतबारी तथा पशुपालनसम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।

एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी लाग्ने, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।

गत गर्मी महिनामा डेंगू समस्याका रुपमा देखा परेकाले यसको अहिल्यैदेखि नै नियन्त्रण आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले गत गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्व तयारी थाल्नुपर्ने बताए । उनका अनुसार गत गर्मीमा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गु सङ्क्रमित भएका थिए । कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा रहेका उनको भनाइ छ ।

डेंगूका लक्षण

‘एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सातदिनसम्म रहिरहन सक्दछ’, जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, ‘यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेंगूका लक्षण हुन् ।’

पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सुत्ने बेला सधैँ झुलको प्रयोग गर्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्