जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सिरिजंघा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ।

यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन्। उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ। एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ।

यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का छ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन्।

बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ। जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए। फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो।

यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन्। मनसुन सुरू भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन्।

हालसम्म बाढी–पहिरोबाट ताप्लेजुङमा ४९ लाख ९० हजारको क्षति भएको पनि जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् । यता सिरिजंघा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन्। बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ।