
भारतको—विशेषगरी असमका गोर्खा समुदायको—गौरवको क्षणमा, “भारतकी छोरी, असमकी कन्या” भनेर माया गरिने बिनिता छेत्री आज गुवाहाटीस्थित लोकप्रिय गोपीनाथ बरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतका साथ स्वदेश फर्किइन् । विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय रियालिटी ट्यालेन्ट शो ब्रिटेन्स गट ट्यालेन्ट (BGT) २०२५ मा दोस्रो रनर-अप बन्न सफल भएसँगै उनले भारत र गोर्खा समुदायको नाम विश्वभर फैलाइदिएकी छिन
विमानस्थलमा बिनितालाई स्वागत गर्न फूल, ब्यानर, राष्ट्रिय झण्डा बोकेर आएका सयौं समर्थक, गुञ्जायमान तालमा गुञ्जिएको परम्परागत गोर्खाली तथा असमेली सङ्गीत, अनि उत्साहले भरिएको माहोलले स्वदेश फर्केकी छोरीको स्वागत गर्यो । यो स्वागत समारोह केवल बिनिताको ऐतिहासिक उपलब्धिको celebration मात्र नभई उनको साहस, समर्पण र सफलताको कथाको पनि उत्सव थियो ।
विश्वमञ्चमा ऐतिहासिक सफलता
बिनिता छेत्री ब्रिटेन्स गट ट्यालेन्टको १८ सिजनको इतिहासमा शीर्ष तीनमा पुग्ने पहिलो भारतीय र दोस्रो एसियाली कलाकार बनिन् । भारतीय शास्त्रीय, लोकधुन र पाश्चात्य शैलीको अद्भुत संयोजनमा आधारित उनका प्रस्तुतीहरूले विश्वभरका निर्णायक र दर्शकको मन जिते ।
सेमिफाइनलमा उनले प्रस्तुत गरेको लता मंगेशकरको “ऐ मेरे वतन के लोगों” ले सबैलाई भावविह्वल बनायो भने ग्रान्ड फिनालेमा प्रस्तुत गरेको हिन्दुस्तानी शास्त्रीय र ओपेरा शैलीको संयोजनले निर्णायकहरूमध्ये साइमन कोवेल, अमान्डा होल्डेन, र अलेशा डिक्सन लाई समेत उभिएर ताली बजाउन बाध्य बनायो ।
ब्रिटिश मिडियाले उनलाई “पूर्व र पश्चिमको सांस्कृतिक सेतु” भनेर सम्मान गर्यो । सोसल मिडियामा #BinitaForTheWin र #AxomKanya ट्रेन्डिङमा परे ।
शानदार स्वागत र सम्मान
बिनितालाई स्वागत गर्न विमानस्थलमा पुगेका प्रमुख व्यक्तित्वहरूमा थिए श्री प्रेम तामाङ, अध्यक्ष, गोर्खा विकास परिषद् (GDC), असम सरकार, सांस्कृतिक मामिला निर्देशनालयका प्रतिनिधिहरू, असम सरकार, श्री नन्द किराती देवान, महासचिव, भारतीय गोर्खा परिसंघ, असम, श्री नुमल छेत्री, महासचिव, अखिल असम गोर्खा विद्यार्थी संघ (AAGSU), विभिन्न गोर्खा सामाजिक संस्था (CSOs) का प्रतिनिधिहरू, बिनिता छेत्री सपोर्ट ग्रुप का सदस्यहरू, जसले उनको यात्रा सफल बनाउन विश्वभर जनसमर्थन जुटाए
स्वागत समारोहमा गोर्खाली लोकनृत्य, देशभक्तिपूर्ण गीत, र सम्मानस्वरूप परम्परागत खादा ओढाउने कार्यक्रम गरियो । भावुक हुँदै बिनिताले जनसमूहलाई नतमस्तक भई सम्बोधन गरिन् :
“यो जीत केवल मेरो होइन—यो त्यो हरेक सानो ठाउँको छोरीको हो, जसले सपना देख्न आँट गर्छ । मैले असम, भारत र गोर्खा समुदायलाई मेरो स्वरमा बोकेर गएको थिएँ । तपाईंहरूले विश्वास गर्नुभयो, धन्यवाद।”
असममा जन्मिएकी, विश्वलाई भरेकी आवाज
बोकाजन, कार्बी आङ्लोङ जिल्लास्थित अमराजन गाउँकी बिनिताको सङ्गीत यात्रा हिन्दुस्तानी शास्त्रीय सङ्गीत सिकाइ र स्थानीय सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने अभ्यासबाट सुरु भएको थियो ।
मुम्बईमा भएको अखिल भारतीय अडिसनबाट BGT का अन्तर्राष्ट्रिय प्रतिनिधिहरूद्वारा छानिएपछि उनको जीवन बदलियो ।
भारत तथा विदेशका गोर्खा समुदाय र शुभेच्छुकहरूले एकजुट भएर उनलाई समर्थन गरे, जसले बिनितालाई BGT को रंगमञ्चसम्म पुर्यायो । अब उनले रोयल अल्बर्ट हल, लन्डन, लगायतका अन्तर्राष्ट्रिय म्युजिक फेस्टिभलमा प्रस्तुती दिने निमन्त्रणा पाइसकेकी छन् ।
समुदाय र सरकारको सम्मान
भारतीय गोर्खा परिसंघ (BGP), असमका महासचिव एवं बिनिता छेत्री सपोर्ट ग्रुपका संयोजक श्री नन्द किराती देवानले बिनितालाई बधाई दिँदै यस उपलब्धिलाई विश्वभरका गोर्खाहरूका लागि ऐतिहासिक सफलता भने । उनले बेलायतका मतदाताहरू र विश्वभरका समर्थकप्रति आभार प्रकट गर्दै भने, “यो जीत केवल असम वा गोर्खाहरूको मात्र होइन—यो भारतकै जीत हो, एक वैश्विक सांस्कृतिक मञ्चमा।”
गोर्खा विकास परिषद्का अध्यक्ष श्री प्रेम तामाङले असम सरकारको तर्फबाट शुभकामना दिँदै बिनिताको तयारीका लागि सहयोग पुर्याउनु भएको मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र कार्बी आङ्लोङ स्वायत्त परिषद्का मुख्य कार्यकारी सदस्य डा. तुलिराम रोंघाङलाई धन्यवाद व्यक्त गरे ।
मुख्यमन्त्री डा. शर्मा आज साँझ लोक सेवा भवनमा बिनिता र उनका आमाबुबासँग भेटघाट गर्नुहुनेछ, तामाङले पुष्टि गरे ।
एक नयाँ इतिहासको आरम्भ
उनको ऐतिहासिक उपलब्धिको सम्मानमा असम सरकार तथा राष्ट्रिय सांस्कृतिक संस्थाहरूले निकट भविष्यमै विशेष सम्मान गर्ने अपेक्षा गरिएको छ । साथै, गोर्खा विकास परिषद् र भारतीय गोर्खा परिसंघले बिनिता छेत्रीको नाममा सङ्गीत तथा प्रदर्शन कलामा रूचि राख्ने गोर्खा युवाहरूको लागि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरिसकेका छन् ।
बिनिता छेत्री आफ्नो मातृभूमिमा फर्किँदा, उनी सँगै ल्याएकी छन् एक अन्तर्राष्ट्रिय उपाधि मात्र होइन—एक पुस्ताको आशा, प्रेरणा र आत्मगौरव, जुन उनको स्वर, संघर्ष र आत्मबलको कथा बनिसकेको छ ।