
काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्ष पूरा गर्नै लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको तयारी निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सकिएपछि सरकारमा ठूलै फेरबदल हुने संकेत देखिएको छ। प्रधानमन्त्री ओली आज राति स्पेनबाट दोहा हुँदै स्वदेश फर्कंदै छन्। शुक्रबार साँझसम्म काठमाडौं आइपुग्ने कार्यक्रमअनुसार ओली फर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग उच्चस्तरीय भेटवार्ता तय गर्ने तयारी भएको स्रोतले जनाएको छ । भेटपछि मन्त्रिपरिषद्को नयाँ स्वरूप टुंगो लाग्ने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार, सरकारमा रहेका थुप्रै मन्त्रीहरूको कार्यसम्पादनप्रति गठबन्धनभित्रै असन्तुष्टि बढ्दो छ। कांग्रेसका पर्यटनमन्त्री बद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, कानुन मन्त्री अजय चौरसिया र ऊर्जामन्त्री दीपक खड्कालाई परिवर्तन गर्ने तयारी कांग्रेसले अघि सारेको छ। गृहमन्त्रीप्रति प्रारम्भमा आलोचना भए पनि पछिल्लो सक्रियताले उनको लोकप्रियता केही बढाएको देखिएको छ।
एमालेतर्फ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी र शिक्षा मन्त्री रघुजी पन्तको कार्यशैलीले पनि प्रश्न उठाएको छ। एमालेभित्र ओली नयाँ अनुहार ल्याउने पक्षमा रहेको चर्चा तिव्र छ। त्यस्तै, जसपा र लोसपाबाट सरकारमा सहभागी भएका खानेपानी मन्त्री प्रदीप यादव, महिला मन्त्री नवलकिशोर साह सुडी र श्रममन्त्री शरतसिंह भण्डारीको प्रभावकारितामाथि समेत असन्तुष्टि देखिएको छ।
यो फेरबदल केवल अनुहारको परिवर्तन होइन, कार्यक्षमता र जनअपेक्षासँग पनि जोडिएको छ। गठबन्धनभित्रको सन्तुलन कायम गर्दै जनमुखी शासन दिन सक्ने मन्त्री चयन गर्ने रणनीति निर्माण भइरहेको बताइएको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलपछि मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम निर्णय टुंगो लाग्नेछ। यसले न केवल सरकारको कार्यसम्पादनमा प्रभाव पार्नेछ, राजनीतिक समीकरणमै नयाँ तरंग ल्याउने सम्भावना देखिएको छ।
कांग्रेस र एमालेको सरकार गठन भएको एक वर्ष पुग्न नपाउँदै गठबन्धन सरकारभित्र आलोचना सुरु हुन थालेको थियो । कांग्रेसले एमाले सांसद तथा मन्त्रीहरुको काम कर्तव्य र जिम्मेवारी का बारेमा आलोचना गरिरहेका छन् भने एमालेले पनि कांग्रेसका सांसद तथा मन्त्रीको आलोचना गरिरहेका छन् । संसदीय छानबिन समितिमा समेत निष्पक्षता नभएको भन्दै अहिले सरकारका मन्त्रीहरुको चौतर्फी आलोचना भइरहेको छ ।