
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेतीलगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर सबै वडामा अध्ययन गरेको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले बताउनुभयो । त्यही अनुसार कार्यक्रम तयार गरी लागू गर्ने योजना रहेको उहाँको भनाइ छ ।
प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सूक्ष्म तत्त्वका आधारमा बालीका लागि वडागत रूपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उहाँले बताउनुभयो । सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ ।
नगरपालिकामा कुल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ । किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ । कृषि पेशामा निर्भर किसान ९० प्रतिशत रहेका छन् । कुल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ ।