जोडिनुहोस
  • होमपेज
  • सयौँ परिवार विस्थापित, केशलियाको बाढी विराटनगर पस्यो

सयौँ परिवार विस्थापित, केशलियाको बाढी विराटनगर पस्यो

विराटनगर । लगातारको वर्षासँगै मोरङ जिल्लाका नदी तथा खोलामा आएको बाढीले दर्जनौँ बस्ती डुबानमा परेका छन् ।

केशलिया, सिंघिया, बक्राहा, रतुवा, र कट्नु खोलामा आएको बाढीका कारण सयौं परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–६ र १२ नम्बर वडाका केशलिया खोला किनारमा बसोबास गर्ने करिब १०० परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार विशेषगरी विराटनगर–१२ को सम्पन्न बस्तीमा ७५ घरका ३५० जनालाई सुरक्षित स्थलमा सारिएको छ ।

उनीहरूलाई बखरी र दरैया आधारभूत विद्यालयमा आश्रय दिइएको छ । विराटनगर–६ मा पनि केही घरहरू डुबानमा परेपछि स्थानीयलाई अन्य सुरक्षित स्थानमा सारिएको छ ।

सुकुम्बासी बस्तीमा खतरा
विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघिया खोलाको बाढी पसेपछि ११ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

सुनवर्षी नगरपालिकाअन्तर्गत क्षति सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाँध कटाएर बस्तीमा पस्दा ६० घर डुबानमा परेका छन् ।

वडा नं. ६ मा पनि बक्राहा खोलाले बाँध भत्काएको छ भने तत्काल मर्मत कार्य भइरहेको जनाइएको छ ।

उर्लाबारी र रतुवामाईमा बाढीको प्रभाव उर्लाबारी–९ मा रतुवा खोलाको बाढीले २० परिवार विस्थापित बनाएको छ ।

रतुवामाई नगरपालिका–५ मा कट्नु खोला पसेर ६ परिवार, महाराजथानमा बक्राहा खोलाको बाढीले नौ परिवार, र मुसरभिट्टामा ३० परिवार विस्थापित भएका छन् ।

धेरै टिप्पणी गरिएका