
म्याग्दी। मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्षपछि आफ्नै भवनबाट सेवा सञ्चालनमा आएको छ।
विसं २०७१ मा स्थापना भएको स्वास्थ्य एकाइ यसअघि भाडाको घरमा साँघुरो कोठामा सञ्चालन हुँदै आएको थियो। मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार हालै नयाँ सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाह सहज भएको छ।
डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सयभन्दा बढी घरपरिवारका लागि स्वास्थ्य सेवा पाउन सहज हुने विश्वास गरिएको छ।
नयाँ भवनको भुइँतलामा स्वास्थ्यकर्मीको कक्ष, उपचार कक्ष, औषधि भण्डारण, सहायता कक्ष, कार्यालय प्रमुखको कक्ष र सभाहल छन्। पहिलो तलामा दुई परिवारका लागि आवास कोठा बनाइएको छ।
सङ्घीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले रु १ करोड ५९ लाख ८३ हजार ७७२ लागतमा भवन निर्माण गरेको हो। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा फरक–फरक ठेक्कामार्फत निर्माण सम्पन्न भएको हो। चालु वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरिएको प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले जानकारी दिए।
हाल भवन परिसरमै रु १ करोडको अनुदानमा बर्थिङ सेन्टर निर्माणाधीन छ, जसको दोस्रो तलासम्म ढलान सकिएको छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालनमा छ भने वडा नं १ निस्कोट बाहेक अन्य वडामा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष बुढाले जानकारी दिए। निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत भवन निर्माणको तयारी भइरहेको छ।