बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माण कार्य सम्पन्न भएसँगै आज बिहान ११ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
यसअघि, बेलीब्रिज निर्माणको आवश्यकताका कारण जेठ २१ गतेदेखि उक्त सडक बन्द गरिएको थियो। बगुवा पुलको पहुँच मार्ग गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण बाढीले बगाएपछि डाइभर्सनमार्फत सवारी आवागमन सञ्चालन हुँदै आएको थियो।
यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने अर्को वैकल्पिक मार्ग कुलेखानी–फाखेल–हुमाने सडक पनि जेठ २१ गतेदेखि पुनः सञ्चालनमा आएको छ। फाखेलस्थित महालक्ष्मी खोलादेखि हुमानेसम्मको सडक कालोपत्रे कार्य सम्पन्न भएपछि सो सडक पुनः सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिए।
उनका अनुसार उक्त सडकको केही खण्डमा कालोपत्रसहित ढलानको काम पनि सम्पन्न भइसकेको छ भने अन्य बाँकी खण्डमा निर्माण कार्य जारी छ।